येले सम्वत् साताव्यापी मनाइने !

नेपालखोज २०७८ पुष १६ गते १६:१५

धरान । किरात समुदाय भनिएका राई, लिम्बु, सुनुवार, याख्खा समुदायको नयाँ वर्ष सुरु हुने माघ १ गतेलाई स्वागत गर्न किरात, राई योयोक्खा सुनसरीले साताव्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ ।

शुक्रवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी यसपाली योले दोङ ५०८२ भव्यरुपमा मनाउने कार्यक्रम सार्वजनिक गरेसंगै येले सम्वत्को काल निर्धारणबारे विद्यमान मतभिन्नता चर्चामा आउने भएको छ ।

ययोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले पत्रकार सम्मेलनमा काल निर्धारणबारे सोधिएको प्रश्नमा भने ‘चार किरातका विद्वानहरु विज्ञहरुसहित काल निर्धारणको मतभिन्नतालाई स्पष्ट गर्ने कार्यमा सक्रिय छन् ।’ ऐतिहासिक तथ्यको काल गणनामा शंसय विद्यमान रहेकाले यसपाली चल्दै आएको गणनाअनुसार येले सम्वत ५०८२ मनाइँन लागिएको उनले बताए ।

येले सम्वत्को आधिकारीक गणनाको बहस २०६५ देखि भएको हो । प्राज्ञ अमर तुम्याहाङअनुसार सन् २००९ मा प्रा.ज्ञ वैरागी काइँलाको पहलमा भएको किरात येले संवत् अन्तर्राष्ट्रिय गोष्ठीले निष्कर्षसहित येले संवत् घोषणापत्र–२००९ जारी गर्‍यो । २०६७ मंसिर २८ मा येÞलेÞ सम्वतको काल निर्धारण गर्न गोपालराज वंशावलीलाई मुख्य आधार मान्ने निर्णय गर्दै इतिहासकार प्रा. डा. जगदीशचन्द्र रेग्मीद्वारा २०६६ मा प्रस्तुत ३१औँ किरात राजा खुरांजको शासन काल १८ वर्ष उल्लेख भएको तर मञ्जुल याक्थुम्बाले उक्त शासन काल १८ वर्ष नभई ७८ वर्ष भएको राय राखेपछि काल गणनामा मतभेद देखिएको थियो ।

उक्त मदभेदलाई टुंगो लगाउन सत्यतथ्य प्रमाण हेरी स्रोत व्यक्तिहरू र किरात येले सम्वत् अध्ययन समन्वय समितिको संयुक्त पहलमा किटान गरी किरात समन्वय समितिमा पेस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सन् २०१० मा प्रा.डा रेग्मी, मञ्जुल र शङ्कर साम्पाङ राईले राष्ट्रिÞय अभिलेखालयको आधारमा ३१औँ किरात राजा खुरांजको शासन १८ वर्ष वा ७८ वर्ष हो भन्ने पुष्टि गरे ।

इतिहासकार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, लिपि विशेषज्ञ सिद्धिरत्न शाक्य, अभिलेखालय प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहवरमा बसेर गरिएको गोपालराजवंशावलीको मूलप्रतिको परीक्षण पश्चात् ३१औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष नै रहेको पुष्टी भयो ।

तर, यसअघि मनाउँदै आएको येले सम्बत् काल र नयाँ निर्धारित कालमा झण्डै २ हजार वर्षको फरक रहेपछि यो सम्बत् मनाउँदै आएका किरात समुदाय सम्बद्ध संगठनहरुले प्रचलनमा रहेको काललाई नै आधार मानेर नयाँ वर्ष मनाउँदै आएका छन् । उनिहरुले काल गणनाको ऐतिहासिक तथ्य आधारको खोजीमा त्रुटी भएकोले थप अनुसन्धान गर्न आवश्यक भएको बताउँदै आएका छन् । सोहीअनुसार यसपाली येले सम्वत् ५०८२ नयाँ वर्ष मनाउने तयारी गरिएको हो ।

यायोक्खाले यले सम्वत्को नयाँ वर्षलाई विशेषत प्रदेश १ को नामाकरणको मागसंग जोडेर मनाउने तयारी गरिएको जनाएको छ । यो सम्वत् किरात समुदायको मौलिक सम्वत् भएकोले यस्लाई राज्यले प्रचलनमा ल्याउनु पर्ने माग सहित प्रदेश १ लाई किरात प्रदेश नामाकरण मागको अभियानमा सबै समुदायलाई सहभागी गराउन यसपालीको येले दोङ कार्यक्रम केन्द्रित रहेको अध्यक्ष राईले बताए ।

पुष १६ देखि सुरु हुने कार्यक्रम ३० गतेसम्म दैनिक सञ्चालन हुनेछन् । भानुचौकमा हुने मुख्य कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथि रहने छन् । सांस्कृतिक प्रदर्शनसमेत रहेको समारोहमा मदन पुरस्कार विजेता साहित्यकार श्रवण मुकारुङले सार्वजनिक रुपमा कार्यपत्र प्रस्तुत गर्ने प्रचार प्रमुख विकास चाम्लिङ राईले बताए । पत्रकार सम्मेलन सञ्चालन यायोक्खा सचिव नविन राईले गरेका थिए ।

प्रतिक्रिया