आइतबार, वैशाख २३, २०८१

‘ए’ डिभिजन लिग : एपीएफसँग आर्मी बराबरीमा रोकियो

नेपालखोज २०७८ पुष १६ गते १९:४२

काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी शसस्त्र प्रहरी बल (एपिएफ) सँग १–१ बराबरी खेलेको हो । बराबरीसँगै आर्मीलाई उपाधि होडमा धक्का लागेको छ भने आर्मीको यो तेस्रो बराबरी खेल हो ।

पहिलो हाफ गोल रहित प्रतिस्पर्धात्मक बनेको थियो । दोस्रो हाफमा भने दुबै टोलीले आक्रामक खेल्दा दुवै गोल दोस्रो हाफमा निस्किएका थिए । ६३औँ मिनेटमा आर्मीका कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । दिनेश हेन्जनको पासमा एपीएफका चार डिफेन्डर र गोलकिपरलाई बिट मार्दै आकर्षक गोल गरेका थिए । तर अग्रता धेरै समय टिकेन । चरा मिनेट पछि नै एपीएफ खेलमा फर्कियो ।

एपिएफका बिक्की तामाङले गोलकिपर विकेश कुथुले सम्हाल्न नसकेको बललाई जाली चुमाउन सफल भएका थिए । यस अघि कप्तान नविन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएपछि आएको रिबाउन्डमा बिक्कीले गोल गरेका हुन् । यसँगै आर्मीको ७ खेलबाट ११ अंक भएको छ । शीर्षस्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबको ६ खेलबाट १४ अंक छ । समान ६ खेलपछि मनाङ मस्र्याङ्दीको १३ र संकटाको १२ अंक छ ।

लिगमा शनिबार तीन खेल हुँदैछन् । दिनको पहिलो खेल दरशथ रंगशालामा थ्री स्टार र जावलाखेल युथ क्लब तथा दोस्रो खेल संकटा र च्यासल युथ क्बलबीच हुनेछ । यस्तै मनाङ मस्र्याङ्दीले पोखरा रंगशालमा ब्रिगेड ब्वाईज (बिबिसी) सँग खेल्नेछ ।

प्रतिक्रिया