‘संगठनको रुपान्तरण र विचारलाई विकसित गर्न विशेष महाधिवेशन आवश्यक’

नेपालखोज २०७८ पुष १६ गते २०:३१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका छन् । शुक्रवार पार्टीको महाधिवेशनस्थल कमलादीबाट निस्कने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष दाहालले संगठनको रुपान्तरण र विचारलाई विकसित गर्नका लागि चुनाव पछि विशेष महाधिवेशन आवश्यक रहेको बताए ।

जारी महाधिवेशनले नै सबै कुरा पूर्ण नहुने भन्दै उनले वैचारिक विकासको भने सुरुवात भएको बताए । चुनाव पछि विशेष अधिवेशन गरेर विचारलाई अझ विकसित गर्ने उनले बताए ।

उनले भने– ‘आज प्रतिवेदन जोडदार ढंगले पारित भयो । भोलि विधान पारित हुन्छ । केन्द्रीय समिति पनि भोलि नै निर्वाचित हुन्छ । फरक मत समेटियो । एउटा फरक मतलाई सम्मान गर्ने भनियो । अरु सबै समेटियो । विशेष महाधिवेशन भनेको संगठनको रुपान्तरण गर्नलाई र विचारलाई पनि अझ विकसित गर्नको लागि हामीले चुनाव पछि एउटा अधिवेशन त गर्नुपर्छ । यो नै टुंगियो, यो अब सबै पूर्ण भयो भन्ने हाम्रो भनाई छैन । एउटा ठुलो ऐतिहासिक सुरुवात वैचारिक विकासको यहाँबाट भयो । अब चुनावपछि हामी विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्ने ।’

उनले आठौँ राष्ट्रिय महाधिवेशन सभ्य र भव्य रुपमा अगाडी बढिरहेको बताए । उनले आफ्नो राजनीतिक प्रतिवेदन जोडदार ढंगले पारित भएको बताए । शनिवार विधान पारित हुने र केन्द्रीय कमिटी पनि निर्वाचित हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया