माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदन पारित

नेपालखोज २०७८ पुष १६ गते २२:३४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारीत गरेको छ । शुक्रवारको बन्दसत्रमा अध्यक्ष दाहालले समुहगत छलफलबाट उठेका प्रश्नहरुको जवाफ दिएसँगै उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक प्रतिवेदनमा आएका सुझावहरुलाई अध्यक्ष दाहालले स्वीकार गरेको बताए । अध्यक्ष दाहालले सकारात्मक सुझावहरुलाई प्रतिवेदनमा समावेश गर्ने प्रतिवद्धता गरेको प्रवक्ता महराले जानकारी दिए ।

केन्द्रीय कमिटी सदस्य लेखनाथ न्यौपानेले राखेको फरक मत भने प्रतिवेदनमा समावेश गर्न नसकिने भएकाले त्यसबारेमा बहस गर्दै जाने भनिएको प्रवक्ता महराले बताए ।

शुक्रवारको बन्दसत्रमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा परिक्षण आयोगले आ–आफ्नो प्रतिवेदन पनि पेश गरेका थिए । शनिवार बिहान ११ बजे पुनः महाधिवेशनको बाँकी कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया