सबैभन्दा भ्रष्ट को ?

नेपालखोज २०७८ पुष १७ गते ११:४०

काठमाडौं । अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी) ले २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सूची जारी गरेको छ । ओसीसीआरपी संसारभरका स्वतन्त्र मिडिया आउटलेट्सका लागि कार्यरत गैर-नाफामूलक खोजी समाचार रिपोर्टिंङ प्लेटफर्म हो ।

ओसीसीआरपीको यो ताजा रिपोर्टअनुसार, यो वर्ष बेलारूसका राष्ट्रपति अलेक्सान्द्र लुकान्सेको सूचीको शीर्ष स्थानमा छन् । त्यसपछि सर्वाधिक भ्रष्टको सूचीमा सिरियाका राष्ट्रपति बसर अल-असद, टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगन तथा अस्ट्रियाका पूर्वचान्सलर सेबेस्टियन कुर्जको नाम छ ।

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनी पनि यो सूचीमा अटाएका छन् । ओसीसीआरपीका अनुसार आफ्नो देशका जनतालाई दु:खको आहलमा मर्न छोडेर हिँडेका कारण गनी यो सूचीमा परेका हुन् । ओसीसीआरपीका सह-संस्थापक ड्रू सुलिवन भन्छन्- असरफ गनीलाई यो उपाधि उनको भ्रष्टाचार तथा अयोग्यताका कारण दिइएको हो । उनले तालिबानीहरुबाट भाग्दै अफगानिस्तानलाई खराब अवस्थामा पुर्याएका थिए ।

भ्रष्टाचारसँग जोडिएको यो रिपोर्ट ६ जना पत्रकार तथा विद्वान्‌हरुको एक प्यानलले तयार पारेको हो । उक्त प्यानलमा अरब रिपोर्टर्स फर इन्भेस्टिगेटिभ जर्नलिज्म (एआरआईजे) का महानिर्देशक रावन दमन, विल फिट्जगिब्बन, इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स (आईसीआइजे) का वरिष्ठ रिपोर्टर बोयान्ग लिम, पुलित्जर सेन्टरका वरिष्ठ सम्पादक लुइस सेली, जर्ज मेसन युनिभर्सिटीको शार स्कुल अफ पोलिसी एन्ड गभर्नमेन्टका लेखक तथा प्रोफेसर पाल राडु , पुरस्कार विजेता , क्रस-बोर्डर इन्भेस्टिगेटिभ रिपोर्टर तथा ओसीसीआरपीका सह-संस्थापक एवं निर्देशक ड्रू सुलिवन थिए ।

ओसीसीआरपीको रिपोर्टअनुसार, ६७ वर्षीय लुकान्सेको १९९३ देखि बेलारुसको सत्तामा कब्जा जमाएर बसेका छन् । उनी निर्वाचनमा धाँधली, आलोचकहरुलाई प्रताडित गर्नेदेखि लिएर प्रदर्शनकारीहरुको गिरफ्तारी तथा उनीहरुको यातनासम्मका घटनामा सामेल पाइएका छन् ।

ओसीसीआरपीको रिपोर्ट भन्छ- असदले सिरियालाई विनाशकारी गृहयुद्धमा धकेलेका मात्र छैनन् सत्तामा बसेर राज्यको करोडौं डलर गमन गरेका छन् । एर्दोगनले एउटा भ्रष्ट सरकारको संरक्षण गरेका छन् जसले राज्यको स्वामित्वमा रहेका बैंकहरुको गलत प्रयोग गरेको छ । कुर्ज अस्ट्रियन पिपुल्स पार्टी (ओबीपी) का नेता थिए जसमाथि गबन तथा घूसखोरीको आरोप छ ।
-एएनआई

प्रतिक्रिया