नव वर्ष मनाइने उत्कृष्ट दश गन्तव्य

काठमाडौं । अंग्रेजी नयाँ वर्षको स्वागतमा संसारभर पार्टी चल्छन् भने कतिपय सहर रंगीन आतिशबाजीमा पूरै डुब्छन् । हेरौं न्यु इयर इभको उत्सवमा डुब्ने युरोपका दश सहर कुन हुन् ? यसका अतिरिक्त ब्राजिल, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, कोरिया, दक्षिण अफ्रिका आदि मुलुकका सहरहरुमा पनि न्यु इयर इभको धुम हुन्छ ।
बर्लिन
जर्मनीको राजधानीस्थित ब्रेडनबुर्ग गेट तथा विजय स्तम्भबीच १० लाखभन्दा बढी मानिस जम्मा हुन्छन् । पार्टी सिटी भनिने बर्लिनमा आज मध्यरात्रिको पछि सम्म पनि मानिसहरु सडकमै रमाइरहेका पाइन्छन् ।
लन्डन
बेलायतको राजधानी लन्डनमा बिग बेनको घण्टी बजेसँगै नयाँ वर्षको आगमनको स्वागत गरिन्छ । थेम्स नदीमाथि हुने आतिशबाजीको दृश्य असाधारण हुन्छ ।
एथेन्स
ग्रिसका बासिन्दाहरुका लागि नयाँ वर्षको समारोह क्रिसमसभन्दा महत्त्वपूर्ण मानिन्छ । यहाँ स्वादिष्ट भोजन, वाइन आदिको प्रयोगका अतिरिक्त घरमै अथवा क्यासिनो गएर तास खेल्ने चलन छ ।
पेरिस
नयाँ वर्षमा लेजर प्रकाशले सुसज्जित विश्वप्रसिद्ध आइफेल टावरको दृश्य अद्वितीय देखिन्छ । पेरिसको एलिसी प्यालेस तथा आर्क दी ट्रायन्फ अगाडि जम्मा भएर मानिसहरु एक-अर्कालाई नयाँ वर्षको शुभकामना दिन्छन् ।
रोम
विश्वभरका इसाईहरुका लागि रोमको सेन्ट पिटर्स स्क्वायर मिलनविन्दु मानिन्छ । वर्षको अन्तिम दिन यहाँ मानिसहरु पोपको उपस्थितिको पर्खाइमा पनि रहन्छन् । पोपका साथ न्यु इयर इभ मनाउन पाइने यो कार्यक्रम नि:शुल्क भए पनि यहाँ केवल १० हजार मानिसले प्रवेश पाउँछन् ।
प्राग
चेक राजधानी न्यु इयर इभमा सुनौलो रंगमा डुब्छ । यहाँ मानिसहरु स्याउलाई आधा काटेर आफ्नो भाग्य हेर्छन् ।
म्याड्रिड
यो ऐतिहासिक सहरको केन्द्रमा ठूलो पार्टी आयोजित गरिन्छ । त्यहाँ स्पार्कलिङ वाइनका साथ अंगुर पनि बोकेर जाने चलन छ जुन अंगुरको दाना घण्टी बजेपिच्छे खाने परम्परा छ । यतिबेला युगल जोडीहरु एक-अर्कालाई अंगुर ख्वाएर रमाउँछन् ।
मदिरा
पोर्चुगलको यो द्वीपमा नयाँ वर्ष मनाउन पुग्ने पर्यटकहरु प्रशस्तै हुन्छन् । लिस्बनभन्दा करिब एक हजार किलोमिटर टाढाको यो द्वीपको नाम २००६ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्मा दर्ता भएको थियो किनभने त्यो वर्ष त्यहाँ संसारकै सबैभन्दा ठूलो आतिशबाजी गरिएको थियो ।
जेनेभा
निकै रोमान्टिक तर केही महँगो । यद्यपि जेनेभाको तालमा चल्ने स्टिमरमा श्याम्पेन र अनेकौं व्यञ्जनको आनन्द लिदैँ नयाँ वर्षको स्वागत गर्नेहरु कम हुँदैनन् ।
इस्तानबुल
दुइ महाद्वीपमा बाँडिएको यो सहरको सेन्ट्रल ताक्सिम स्क्वायरमा ठूलो समारोह आयोजित गरिन्छ । त्यहाँ हुने आतिशबाजीको नजारा हेर्न गलाटा पुल पुग्नुपर्छ जुन असाधारण हुन्छ ।

प्रतिक्रिया