५४१ जनालाई ‘भ्यालु भौचर कार्ड’

नेपालखोज २०७८ पुष १७ गते ८:४०

सुर्खेत । अछाम जिल्लाको तीनवटा पालिकामा नौवटा समुदायका ५४१ जनालाई भ्यालु भौचर वितरण गरिएको छ ।

यूएसएआईडीको आर्थिक सहयोग, मर्सिकोर नेपाल र वाक नेपाल अछामको साझेदारी, पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको समन्वयमा भकारी कार्यक्रमअन्र्तगत उक्त भ्यालु भौचर वितरण गरिएको हो ।

विभिन्न प्राकृतिक प्रकोपको कारण संकटासन्न परिवार, तीन महिना मात्र आफ्नो उत्पादनले खान पुग्ने, कोरोनाको कारण रोजगार गुमाएका, भौगोलिक रूपले सडक मार्गसम्म पहुँच नभएका, ज्येष्ठ नागरिक, अपांगता भएका सुत्केरी, लामो खडेरीका कारण उत्पादनमा भएको ह्रासका कारण खाद्य संकट भोगिरहेका परिवारलाई खाद्य सुरक्षामा पहुँच पु¥याउने उद्देश्यका साथ १०,३५० (दश हजार तीन सय पचास) बराबरको भ्यालु भौचर डिजिटल कार्ड वितरण गरिएको हो ।

समुदायस्तरमा क्रियाशील समुदाय स्तरीय विपत् व्यवस्थापन समिति कृषि समूह र अन्य समूहले गरेको माथि उल्लेखित मापदण्डका आधारमा सहभागी छनोट भएपछि पालिकाको सिफारिसपश्चात् उक्त कार्य सफलताका साथ सम्पन्न भएको हो ।

मोबाइलको नेटवर्कको समस्या, इन्टरनेटको कमजोर पहुँचका बाबाजुद पनि आर्या टेक्नोलोजीको सहयोगमा यो कार्य सफल भएको हो । सरकारको सार्वजनिक निजी साझेदारीको अवधारणालाई आत्मसात् गर्दै स्थानीय व्यापारी, नागरिक समाज संस्था र सरकारी तहबाट भएको समन्वय यो जिल्लाकै लागि नौलो भएको कुरा जनप्रतिनिधि र स्थानीय व्यापारीले बताएका छन् ।

डिजिटल कार्ड भ्यालु भौचरको प्रयोग सुरुमा केही अप्ठ्यारो लागेको भए पनि अभिमुखीकरण र प्रत्यक्ष अभ्यासपछि सहज तरिकाले यो प्रक्रिया सम्पन्न भएको व्यापारीहरुले बताएका छन् । छनोट भएका सहभागीहरूले पनि एकदम खुसी भएर विशेषगरी हाम्रो भान्सामा आवश्यक पर्ने आधारभूत चिज चामल, दाल, तेल, नुन र केहीले जाडोको समय भएकाले सिरक, ब्ल्यांकेट लिएको बताएका छन् ।

उक्त भ्यालु भौचर कार्यक्रमलाई सहज बनाउन र व्यापारी, सहभागी र साझेदार संस्थाको हौसला बढाउन भकारी कार्यक्रमका सेसिल अधिकारी, प्रशन्न प्रधानलगायत आर्या टेक्नोलोजीका बेन्जु बगालेको उपस्थिति रहेको अछामका लागि सीडीए अफिसर खिमबहादुर रेग्मीले नेपालखोजलाई जानकारी दिए ।

प्रतिक्रिया