बिहीबार, वैशाख २०, २०८१

बालबालिकाले कार्यकारी क्षमता कसरी र कहाँ सिक्न सक्दछन् ?

नेपालखोज २०८० भदौ २५ गते ९:४२

घर परिवार

बालबालिकाले कार्यकारी क्षमता सिक्ने पहिलो ठाउँ भनेको घर नै हो । घरमा सिकेको कुरालाई विद्यालयमा सिकेको कुराले थप मजबुद बनाउँदछ । घरमा आमाबाबु र स्याहारकर्ताहरूले बालबालिकामा कार्यकारी क्षमताको विकासलाई सघाउन सक्ने निम्न मुख्य ४ तरिकाहरू छन्:

१. कार्यढाँचा तथा दैनिक कार्यतालिका बनाइदिने: बालबालिका अभिभावकले बनाइदिएका कार्यढाँचा र दैनिक कार्यतालिकाबाट लाभान्वित हुन्छन्, किनकि यस्ता सहयोगले उनीहरूको योजना बनाउने र योजना मुताविक कार्यहरू गर्ने एवम् व्यवस्थापकीय क्षमता विकास गर्न मद्दत गर्दछ।

२. स्वतन्त्र सोचलाई प्रोत्साहित गर्ने: आमाबाबुले बालबालिकालाई सधैं प्रश्नको जवाफ दिनुको सट्टा आफ्नै बिचार ल्याउन र आफ्ना समस्याहरू आफैं समाधान गर्न प्रोत्साहित गर्न सक्छन् । यसो गर्नाले बालबालिकाले कुनै पनि कुराको बारेमा पहिला आफैं सोधी खोजी गर्छन र अप्ठ्यारो पर्दा मात्र अभिभावकसँग जिज्ञासा राख्दछन् । तथापी बालबालिका जिज्ञासु हुनु र धेरै भन्दा धेरै प्रश्न सोध्नु उनीहरूको बौद्धिक विकासको सूचक पनि हो ।

३. स्व-अनुशासन या नियमन सिकाउने: आमाबाबुले स्व-अनुशासन र नियमनका सीपहरूका साथै बालबालिकालाई उनीहरूको भावना र व्यवहार व्यवस्थापन गर्ने तरिकाहरू पनि सिकाउन सक्छन् ।

४. अभ्यासका लागि अवसरहरू प्रदान गर्ने: बालबालिकाले पजलहरू, विभिन्न खेलहरू अथवा खेल जस्तै अन्य गतिविधिहरू मार्फत आफ्नो कार्यकारी क्षमताहरू अभ्यास गर्न र सुधार गर्दै लैजान सक्छन् । तसर्थ अभिभावकले बालबालिकालाई अभ्यासका लागि पर्याप्त समय दिने तथा नयाँ नयाँ अवसरहरू प्रदान गर्नु पर्दछ ।

विद्यालय

विद्यालयमा बालबालिकालाई कार्यकारी क्षमता सिकाउने प्रशस्त अवसरहरू हुन्छन् । बालबालिकामा धेरैजसो कार्यकारी क्षमताको विकास २ बर्षको उमेर देखि नै हुन शुरु हुनाले यो महत्वपूर्ण अवस्थामा, शिशु विकास केन्द्र तथा पूर्वप्राथमिक कक्षा देखि नै ध्यान दिनु पर्दछ । विभिन्न अनुसन्धानका अनुसार, खेल, अन्वेषण तथा सकारात्मक अनुशासनमा आधारित गुणस्तरीय प्रारम्भिक बालविकास कार्यक्रमले बालबालिकाको कार्यकारी क्षमता विकासमा सकारात्मक प्रभाव पार्छ ।

बालबालिकालाई एसेम्ब्ली, जीवन उपयोगी सिप कक्षाहरू, अतिरिक्त कृयाकलाप तथा विभिन्न खेलहरूका माध्यमबाट कार्यकारी क्षमताको विकास गराउन सकिन्छ । यदि विद्यालयमा कार्यकारी सीप सिकाउने भनेर कुनै समय नतोकिएको भएता पनि नियमित कक्षाहरूमा कार्यकारी सीपहरू सिकाउन सकिन्छ ।

जस्तो परिक्षा दिने उमेर भइसकेका बालबालिकालाई परिक्षा अगाडी कसरी पढ्ने, कहिले पढ्ने, समय व्यवस्थापन कसरी गर्ने साथै पुस्तकहरूमा भएका विभिन्न पात्रहरूको लगनशिलता र अनुशासनको बारेमा छलफल गर्न सकिन्छ । कार्यकारी सीपहरू वास्तवमा जीवन उपयोगी सीपहरू भएकाले प्रत्येक दिन नै कक्षामा छलफल गर्ने, अभ्यास गर्ने र  दिनको अन्त्यमा ती गतिविधिहरूको चर्चा गर्ने गर्न सकिन्छ ।

त्यसका साथै कक्षाकोठामा शिक्षक या सहजकर्ताले बालबालिकाका लागि उनीहरूसँगै दैनिक रुटिन बनाउने, बनाउन सिकाउने र बनाइएको रुटिन अभ्यास गर्ने गर्नु पर्दछ । कतिपय बालबालिकालाई गृहकार्य कहाँ छ भनेर खोज्ने क्रममा तनाव हुन सक्दछ यस्तो अवस्थामा गृहकार्य सँधै एकै ठाँउमा लेखिदिने गर्नु पर्दछ ।

कक्षाकोठामा राखिएका कुनै आकर्षक सामग्रीले केहि समय पछाडि कसैको सिकाइलाई विकर्षण गरिरहेको हुन सक्दछ । तसर्थ त्यस्ता विकर्षणका कारकहरू घटाउँदै लैजानु पर्दछ । साथै कुनै समय दिएर गर्न लगाइएको कार्य, समय सकिनु अगाडी बाँकी रहेको समयका बारेमा सूचित गर्नु पर्दछ । यसले बालबालिकालाई समय व्यवस्थापन गर्न मद्दत गर्दछ । त्यसैगरी कुनै कार्य गरिसके पश्चात निश्चित समयको लागि फुर्सद दिनु पर्दछ । यसले उनिहरुमा पुनर्ताजगी प्रदान गर्दछ।

यसका साथै कक्षाकोठालाई सिकाइका दृष्टिकोणले लचिलो र सहज बनाउनु पर्दछ । कक्षाकोठामा पर्याप्त सिकाइ सामग्रीहरू राखिनु पर्दछ र बालबालिकालाई आवश्यक पर्दा ती सामानहरू प्रयोग गर्न सक्ने वातावरण बनाउनु पर्दछ ।

विद्यालयमा जसरी गणित तथा अन्य विषय सिकाइन्छ त्यसै गरि कार्यकारी सीपहरूलाई पनि प्राथमिकता र गहन तरिकाले सिकाउन सकेमा बालबालिकामा कार्यकारी क्षमताको राम्रो विकास हुन सक्दछ ।  

युनिसेफ नेपाल

प्रतिक्रिया