शुक्रबार, वैशाख २१, २०८१

भोजपुरको माथिल्लो क्षेत्रमा हिमापतसँगै वर्षा, कृषक उत्साहित

नेपालखोज २०७८ पुष १७ गते ११:१९

भोजपुर । भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भञ्ज्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् ।

लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित बनेका छन् । आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नका लागि सहज भएको टेम्केमैयुङ ५, मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले बताए । स्थानीयवासी शेर्पाले भने, ‘हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । तर हामी किसानलाई भने धेरै फाइदा पुगेको छ । अब आलु, मकै रोप्ने बेला भयो यसले हामीलाई राम्रो भएको छ ।’

केही दिनयता मौसममा परिवर्तन भएर आएको हिउँ र पानीका कारण चिसो बढ्दा चौपायालाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताए । त्यस्तै केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको उनको भनाइ छ । विष्टले भन, ‘हिमपातका कारण धेरै चिसो बढेको छ । अरुभन्दा पनि बालबच्चा केटाकेटी, वृद्धवृद्धा र पशुचौपायालाई धेरै समस्या छ ।’

चिसो बढेपछि सदरमुकाम र आसपासका स्थानीय बासिन्दाले घर बाहिर निस्किन समस्या भएको बताउने गरेका छन् । हिउँ परेसँगै हिउँ खेल्न आउनेको संख्या बढेपछि सुन्तले, चखेवा, बाघखोरलगायतका ठाउँमा सञ्चालनमा रहेका होटल तथा पसलमा मानिसको चाप बढेको छ । दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आउने गरेको बाघखोरका होटल व्यवसायी गणेशकुमार तामाङले बताए ।

प्रतिक्रिया