हरेक निकायमा ३३ प्रतिशत महिला : प्रधानमन्त्री देउवा

नेपालखोज २०७८ पुष १७ गते १४:२७

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताए । प्रधानमन्त्री देउवाले नेपालमा महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दावी गरे ।

आज सरकारी निवास बालुवाटारमा कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ को विमोचन गर्दै उनले मुलुकको कार्यकारी तहहरुमा समेत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेको बताए । नेपाली काँग्रेसले आफूलाई सबै समूदायको पार्टीका रुपमा चिनाएको उनको दावी छ । प्रधानमन्त्री देउवाले भने,‘नेपाल मात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत महिलाहरुलाई हरेक ठाउँमा अधिकार दिइएको छ । उनीहरुले पाउँछन । नेपालमा पार्टीहरुले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन ।’

प्रधानमन्त्री देउवाले स्थानीय तहमा पनि महिलाको उपस्थिति उल्लेख्य रहेको बताए । उनले भने, ‘स्थानीय तहमा हेर्ने हो भने ४०÷४१ प्रतिशत महिलाहरुलाई आरक्षणको व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरुलाई हामीले आरक्षणको व्यवस्था गरेका छौं । अगाडि बढाएका छौं । नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ अत्यन्तै समावेशी, समानुपातिक रुपमा दलित, आदिवासी, जनजाति सबैलाई आरक्षणको व्यवस्था गरिएको छ । नेपाल र नेपाली काँग्रेस पनि सबैको पार्टीका बनेको छ । भोलीका दिनमा अझ बढि मतदाता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । भोली आ–आफ्नो क्षेत्रमा बढिभन्दा बढि महिला मतादाताहरु, दलित महिला मतदाता, जनजाति महिला मतदाता बढाउने काममा पनि महिला नेतृहरुलाई सफलता मिल्दै जाने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री देउवाले महिला नेतृहरुले महिला मतदाताहरुको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले नेतृ संग्रौलाले नेपालको महिला आन्दोलनको क्षेत्रमा दिएको योगदान प्रशंशनीय रहेको बताए ।

प्रतिक्रिया