ग्लोबल आईएमई बैंकले देशव्यापी रक्तदान कार्यक्रम गर्ने

नेपालखोज २०७८ पुष १७ गते २३:००

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडौं, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशकाे विरेन्द्र चोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको बैकले जनाएको छ ।

देशभर आयोेजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगतदान गरिएको छ । यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निःशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।

बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आइएमई बैंक यही पौष १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गर्दैछ ।

प्रतिक्रिया