प्रभु बैंंकका सेयरधनीहरूले भने- लाभांश कम भयो, २० प्रतिशत पुर्याउनुपर्छ

काठमाडौं । प्रभु बैंक लिमिटेडका सेयर धनी सदस्यहरुले वार्षिक लाभांश बढाउनुपर्नेमा जोड दिएका छन् । बैंकको बीसौँ साधारणसभाका अवसरमा उनीहरूले लाभांश प्रतिशत कम्तीमा पनि २० प्रतिशत पुर्याउने गरी योजना बनाएर अघि बढ्न अध्यक्ष, सञ्चालक तथा सीईओलाई सुझाएका हुन् ।
सेयरधनी गुणराज भट्टले आगामी वर्ष १२ प्रतिशत नभइ २० प्रतिशत लाभांश हुनुपर्ने अपेक्षा गरेका छन् । सेयरधनीले बढी लाभांश खोजेकाले सोहीअनुसार योजना बनाउनुपर्ने उनको सुझाव छ । बैंकले दिनसक्ने भन्दा घटाएर लाभांश दिएको उनले टिप्पणी गरे । उनले राष्ट्र बैंकको नीतिका कारण पनि लाभांश घटेको हुनसक्ने आकलन गरे । राष्ट्र बैंकले मनलागी बैंक खोल्न दिएर मर्ज गर्नुपर्ने अवस्था आएको भट्टको बुझाइ छ ।
सेयरधनी कुवेर श्रेष्ठले बैंक स्थापना भएको २० वर्षमा लाभांश पनि २० प्रतिशत हुने गरी काम गरिनुपर्नेमा जोड दिए । उनले सेयरधनीलाई निराश नबनाउन अध्यक्ष तथा सञ्चालकलाई सुझाव दिएका छन् । श्रेष्ठले कर्मचारी तलब सुविधामा अंकुश लगाएर भए पनि लाभांश प्रतिशत बढाउनुपर्नेमा जोड दिए । सेयर धनी चन्द्रलाल श्रेष्ठले १२ दशमलव ६३ प्रतिशत बोनस बाँडेकामा खुसी व्यक्त गरे । तर आगामी वर्षमा बैंकले सेयरधनीलाई लाभांश बढ्ने गरी काम गर्नुपर्नेमा उनले पनि जोड दिए ।
यस्तै, वरिष्ठ अधिवक्ता अशोक उप्रेतीले सानो फाइनान्सका रुपमा स्थापना भएको बैंक अहिलेको अवस्थामा आइपुगेको भन्दै खुसी व्यक्त गरे । भविष्यमा बैंकले कमाएको नामको अस्तित्व गुमाउन नहुने भन्दै उनले बैंकमा सेयर मात्रै होइन डिपोजिट पनि सुरक्षित भएको जनाए ।
कार्यक्रममा सेयर धनी अमृतनाथ रेग्मीले बैंकको इम्पेरिमेन्ट सिस्टम राम्रो पक्ष भएको टिप्प्णी गरेका छन् । उनले ११ करोडको इम्परिमेन्ट हुनु सकारात्मक पक्ष भएको जनाए । बैंकले आफूमा सुधार गर्न अल्पकालीन (सर्ट टर्म) र मध्यकालीन (मिड टर्म) योजना बनाएर बैंकमा काम गर्न सुझाए ।
बैंंक नाफामा मात्र नभइ सामाजिक अभिमुखीकरण केन्द्रित
प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले बैंक नाफा नोक्सानमा मात्रै केन्द्रित नभइ सामाजिक अभिमुखीकरणमा पनि केन्द्रित भएको बताएका छन् । उनले बैंकमा देखिएका समस्याहरू हटाउन रणनीतिक उपायहरू अपनाउने जनाए ।
अध्यक्ष सिटौलाले बैंकमा काम गर्दा आधुनिक प्रविधिले निम्त्याउने जोखिममा सचेत रहने जनाए । अध्यक्ष सिटौलाले भने, ‘डिजिटल माध्यमलाई भरपूर प्रयोग गरी बैंकलाई उचाइमा पुर्याइनेछ ।’
साधारणसभामा सञ्चालक समितिका अध्यक्ष सिटौलाले प्रस्तुत गरेको आव ०७७/८८ को प्रतिवेदन छलफल गरी पारित गरिएको छ । अध्यक्ष सिटौलाले प्रस्तुत गरेको प्रतिवेदनमा आव ०७७/७८ मा गरेको प्रगति, बैंकको गतिविधि तथा भावी योजनाहरू, आर्थिक वर्ष ०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब, नाफा-नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाहलगायत अन्य वित्तीय विवरणहरू उल्लेख छ ।
वार्षिक साधारणसभामा दिइएको जानकारीअनुसार आव ०७७/७८ मा बैंकलाई एक अर्ब ७२ करोड ८ लाख ७४ हजार ८ सय ४९ रुपैयाँ नाफा भएको छ ।
प्रतिक्रिया