शुक्रबार, जेठ ३, २०८२

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा भटौलिया बजारमा विस्तार

नेपालखोज २०७८ पुष १९ गते २:००

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा यहि पौष १६, गतेबाट ९० औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दे आएको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल्ली प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।

प्रतिक्रिया