सुडानका प्रधानमन्त्री हमदुकद्वारा राजीनामा

काठमाडाैं । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्किएका अब्दुल्ला हमदुकले केही सातामै पदबाट राजीनामाको घोषणा गरेका छन् ।
गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो । तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी एउटा सम्झौता पश्चात् पदमा उनको पुनर्बहाली गरिएको थियो । प्रदर्शनकारीहरूले भने उक्त सम्झौताको विरोध गर्दै पूर्ण रूपमा नागरिक शासनको माग गरेका छन् ।
लगातार दोस्रो दिन प्रदर्शन भएपछि उनले पदबाट राजीनामा गरेका हुन । चिकित्सकहरूका अनुसार पछिल्लो प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । टेलिभिजन सम्बोधनका क्रममा हमदुकले सुडान ‘खतरनाक मोडमा छ जसले यसको सम्पूर्ण अस्तित्वलाई खतरामा पारेको छ’ भनेका छन् ।
उनले आफूले देशलाई ‘विपद्तर्फ उन्मुख हुनबाट’ जोगाउन सक्दो प्रयास गरेको तर ‘सहमतिमा पुग्नका लागि सबै कार्य गरे पनि त्यसो हुन नसकेको’ बताए ।
सन् २०१९मा व्यापक विरोध पश्चात् लामो समय सुडानमा शासन गरेका ओमार अल-बशिरको सरकार अपदस्थ भएसँगै नागरिक अनि सैन्य नेतृत्वकर्ताहरूले एउटा असहज शक्ति साझेदारी सम्बन्धी सम्झौता गरेका थिए जसको उद्देश्य देशलाई लोकतान्त्रिक नेतृत्व तर्फ उन्मुख गराउनु थियो ।
गत नोभेम्बरमा भएको सम्झौता अनुरूप पुनः पदबहाल भएका प्रधानमन्त्रीले आगामी निर्वाचनसम्म प्राविधिकहरू संलग्न रहने मन्त्रिपरिषद्को नेतृत्व गर्नुपर्ने थियो ।
तर नयाँ नागरिक सरकारसँग कति शक्ति हुन्छ भन्ने कुरा भने अस्पष्ट थियो र प्रदर्शनकारीहरूले आफूहरूले सेनालाई विश्वास नगर्ने बताएका थिए । बीबीसी
प्रतिक्रिया