नेकपा एसका पोलिटव्यूरो सदस्य यदुवंश एमाले फर्किए

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा एमालेमा फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादीतीर लागेका झालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराए ।
आइतवार साँझ बालकोटमा उनलाई स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाको रोहवरमा अध्यक्ष ओलीले पार्टी प्रवेश गराए । झा नेकपा हुँदा पनि केन्द्रीय सदस्य थिए । तर, उनी माधव नेपालसँगको व्यक्तिगत सम्बन्धका कारण समाजवादीतीर लागे ।
प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेले । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।
झा एमालेको पोलिटब्यूरो सदस्य रहिसकेका व्यक्ति हुन् । २०६० मा एमाले परित्याग गरी मालेमा पुगेका झा २०६९ मा डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा माले फोडेर माले समाजवादी गठन गर्दै वन मन्त्री बनेका थिए । एमालेका नेताहरुले त्यसबेला नै धनुषाका रामचन्द्र झाले पार्टी छाडेर माओवादीमा गए पनि उनको विकल्पका रुपमा यदुवंश झा आएको बताएका थिए ।

प्रतिक्रिया