शनिबार, जेठ ५, २०८१

३२ अंंकले नेप्से बढ्दा ४ अर्ब ५३ करोडको काराेबार

नेपालखोज २०७८ पुष १९ गते १५:३५

काठमाडाैं । नेप्सेको उच्च अंकले वृद्धिले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ६० अंकले बढेको नेप्से आज ३२ दशमलव दुई अंकले बढेर २६ सय १७ दशमलव ९४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८६ अंकले बढेर चार सय ८७ दशमलव ८७ अंकमा पुगेको छ ।

दुई सय ३० वटा कम्पनीहरुको ५४ हजार पाँच सय पाँच पटकको कारोबारमा ८२ लाख पाँच हजार ५२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७९ रुपैयाँ पुगेको छ । १३ वटा समूहहरुको कारोबार हुँदा उत्पादनमुलक समूहको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक २५ दशमलव चार अंकले बढेर १७ सय ६१ रुपैयाँ ४६ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि १० दशमलव ११ अंकले बढेर २८ सय १२ दशमलव ८४ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ६१ दशमलव ३६ अंकले बढेर १२ हजार ८२ दशमलव ८४ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि ९३ दशमलव ८८ अंकले बढेर १४ हजार छ सय ४९ दशमलव तीन अंकमा चढेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ७७ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा रुरु जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ५९ प्रतिशतले घटेर नौ सय चार रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता चार हजार दुई सय ४९ रुपैयाँ अन्तिम मुल्यमा २८ करोड ४४ लाख ७० हजार पाँच सय ७० रुपैयाँ ५० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया