एक परिवारका श्रीमान्-श्रीमती दुई पार्टीको राष्ट्रिय राजनीतिमा

काठमाडौं । एक परिवारका श्रीमान् श्रीमती दुई पार्टीको केन्द्रीय सदस्य बनेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने ठूलो दल नेकपा एमालेको केन्द्रीय सदस्यमा श्रीमान् दावा तामाङ र तेस्रो ठूलो दल माओवादी केन्द्रको केन्द्रीय सदस्यमा श्रीमती कुमारी मोक्तान चुनिएकी छिन् ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले २९९ केन्द्रीय सदस्यमध्ये अहिले २३६ जनाको नाम टुंगो लगाएको छ । केन्द्रीय सदस्यमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जनाको नाम सार्वजनिक भइसकेको छ । माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचिमा मोक्तानको नाम परेपछि एक परिवारका दुई सदस्यको राष्ट्रिय राजनीतिमा अलग-अलग पार्टीबाट प्रतिनिधित्व भएको छ ।
माओवादी केन्द्रको मकवानपुर इन्चार्ज समेत रहेकी उनी आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य भएकी हुन् । साथै उनी बागमती प्रदेशमा सामाजिक विकास मन्त्रीसमेत रहेकी छिन् । श्रीमान् दावा तामाङ भने नेकपा एमालेका केन्द्रीय सदस्य छन् । मंसीरमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट उनि एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
तामाङले नेकपा विभाजन हुँदा प्रचण्डको साथ छाडेर नेकपा एमालेमा बसेका थिए । एकीकरण हुँदा माओवादी केन्द्रबाट नेकपामा केन्द्रीय सदस्य रहेका तामाङले प्रचण्डको साथ छाडेका हुन् । उनलाई एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका थिए । मन्त्री बनाएपछि उनले ओलीको साथ छाडेनन् । ओलीको क्याबिनेटमा तामाङ पुवा तथा खेलकुद मन्त्री भएका थिए ।

प्रतिक्रिया