ऊर्जामन्त्री भुसाल र बिमस्टेक महासचिवबीच शिष्टाचार भेट

नेपालखोज २०७८ पुष २० गते १६:५८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र बिमस्टेकका महासचिव तेन्जिन लेक्फेलबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यबारे छलफल भएको छ । आज मन्त्रालयमा भएको भेटमा बिमस्टेकको विविध विषयमा छलफल भएको हो ।

महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने विषयमा सबै सदस्य राष्ट्रहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । उनले सन् २०१८ मा सम्झौता भएको ऊर्जासम्बन्धी गुरु योजनाका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउँदा सदस्य राष्ट्रलाई फाइदा हुने दावी गरे । महासचिव लेक्फेलले भारतको ब्याङ्लोरमा स्थापना गर्ने भनिएको ‘इनर्जी सेन्टर’ स्थापना गरेर बिमस्टेक कै ऊर्जासम्बन्धी माथिल्लो निकाय स्थापना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

मन्त्री भुसालले बिमस्टेकस्तरीय जलविद्युत् प्रयोग र प्रवद्र्धनका विषय अन्तरसम्बन्धित रहेको बताईन् । त्यसका लागि नेपालका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न आफू तयार रहेको उनले स्पष्ट पारिन् । उनले भनिन्,‘सबै सदस्य मुलुकका लागि उपयुक्त हुनेगरी नेपालले मिति तोक्छ, त्यसका लागि हामी फोकल पर्सन तोकेर काम अगाडि बढाउँछौं ।” सन् २०१० मा भएको मन्त्रीस्तरीय बैठकले नेपालले ऊर्जामन्त्रीस्तरीय बैठकको आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

बिमस्टेकको पाँचौ शिखर सम्मेलन आगामी ३० मार्च २०२२ मा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव भएको छ । यसै सन्दर्भमा महासचिव लेक्फेल नेपाल भ्रमणमा छन् ।

प्रतिक्रिया