गण्डकीमा ३ सिटका लागि ६ जनाको उम्मेद्वारी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकीमा तीन सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा सत्ता गठबन्धनका ३ र एमालेका ३ जनागरी ६ जनाले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् । प्रमुख प्रतिपक्ष एमालेबाट स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएका हुन् । लोकतन्त्रको रक्षाका लागी सत्ता गठबन्धनबाट आफू साझा उमेदवार रहेको कमला पन्तले बताए ।
त्यस्तै, जित्नका लागि नै उमेदवारी दिएको एमालेका उमेदवार पुण्यप्रसाद पौडेलले वताए । गण्डकीमा सबैभन्दा बलियो दल एमाले रहेको छ । एमाले एक्लैसँग २ हजार ५ सय ५६ मतभार छ । कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ । जनमोर्चासँग १ सय ५०, जनता समाजवादीसँग ९६ र राप्रपासँग ३६ मतभार छ ।
राष्ट्रिय सभा चुनावमा राप्रपाको कित्ता क्लियर भएको छैन् । त्यसबाहेक गठबन्धनको मतभार एमालेको भन्दा निकै बढी हुन पुग्छ । कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको ३ हजार १ सय ७६ मतभार हुन्छ । उक्त मत एमालेको भन्दा ६ सय २० ले बढी हो । एमाले उम्मेदवारले चुनाव जित्न निकै मिहिनत गर्नुपर्ने हुन्छ । स्थानीय तह र प्रदेशसभाका सांसदहरु पार्टीबाट निर्वाचित हुने भएकोले फरक पर्ने खालको नतिजा खासै आउँदैन ।
एक दुई मत तलमाथि भए पनि त्यसले प्रभाव खासै राख्दैन । त्यसैले गण्डकीमा एमालेभन्दा गठबन्धन निकै बलियो देखिन्छ । यसअघि भने बाम गठबन्धन एकातिर हुँदा कांग्रेस एक्लै परेको थियो । २ वर्ष बिताएर बिदा भएका सुरेन्द्र पाण्डे र बृन्दा रानामगरको ठाउँमा कांग्रेस भर्सेज बाम गठबन्धन थियो । दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया