बिमाको दररेट र शर्तहरु संशोधन नभएसम्म वार्ता नगर्ने महासंघ र ईप्पानको निर्णय

काठमाडौं । बिमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघ, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को संयुक्त प्रतिनिधिमण्डल र बिमा समितिबीच आज भएको वार्ता बिना निष्कर्ष सकिएको छ ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँगको भेटमा समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघले जनाएको छ । २०७८ असोज ६ मा जारी पुर्नबिमा निर्देशिका, २०७८ मा बिमाको दररेट र शर्तहरु हालसम्म संशोधन नभएकोले त्यस्तो अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र ईप्पानले माग राखेका छन् ।
यस सम्बन्धमा महासंघ र ईप्पानले बिमा समितिलाई दुई पटक र प्रधानमन्त्रीलाई समेत संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बुझाए पश्चात् बीमा समितिले महासंघ र ईप्पानलाई आज वार्तामा बोलाउँदा बिमा समितिले कुनै निकास नदिएकोले निर्देशिका खारेज नभएमा ईप्पान र निर्माण महासंघले संयुक्त रुपले चरणवद्घ आन्दोलन गर्ने जानकारी गराएका छन् ।
निर्देशिका खारेज नभएसम्म बिमा समितिसँग कुनै पनि वार्ता तथा छलफल नगर्ने निर्णय महासंघ र ईप्पानले गरेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्ल्ेख छ । निर्देशिका खारेज भए पश्चात् सर्वपक्षीय सरोकारवालानिकायहरूबीच विस्तृत छलफल हुनुपर्ने महासंघको माग रहेको छ ।
विदेशी बिमा कम्पनीसँग समेत बिमा गर्ने व्यवस्था हुनुपर्ने, बिमा गर्ने कार्य ऐच्छिक हुनुपर्ने, बिमा गरेको मिति देखि नै क्षतिपुर्ति पाउनु पर्ने, खुला अर्थबजार नीतिअनुरुप स्वस्थ प्रतिस्पर्धा गरिनु पर्नेलगायतका व्यवस्थासहितको निर्देशिका जारी गर्न महासंघका अध्यक्ष रवि सिंहले बिमा समिति समक्ष माग गरेका थिए । महासंघ र ईप्पानका मागहरू तत्काल सम्बोधन नभएमा सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया