एमालेलाई देशभरि एक सिट पनि जित्न दिँदैनौं : महेन्द्र यादव

काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा अबको हुने निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न नदिने उनले दाबी गरे ।
उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौं ।’
उनले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने पनि दाबी गरे । उनले भने,‘अब जनताले यसअघि गरेको गल्ती सच्याउनेछन् ।’ उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा राखे । उनले भने,‘यो गर्नु गलत हो । जे सुझाव दिने हो, सिधै सभापतिलाई दिनुहोस । त्यो सुझावको सुनुवाई हुन्छ ।’
उनले पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको बताए । उनले भने,‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुईवटा केन्द्रीय कमिटीको बैठक राखनुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुनखालको आन्तरिक प्रतिष्पर्धा भएको छ । एशियाली मुलुककोलागि मात्रै होईन, संसारकै लोकताीन्त्रक देशलाई चूनौति भएको छ ।’
उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको चित्रण गरे । उनले भने,‘सबैको साझा सभापति हो, हुन त उहाँले सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र लिने बेलामा म भोट दिनेको पनि र नदिनेको पनि सभापति हुँ भन्नुभयो । उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन् ।’
उनले सभापति देउवाले गुटगत आधार नदेखाएको स्पष्ट पारे । उनले भने,‘अहिले एक महिना नै भएको छैन् । तीन महिना त हनिमुन पिरियड हो । केही साथी छुट्नुभएको छ । सबैलाई उहाँले समेट्नुहुन्छ । उहाँले अन्य पार्टीलाई पनि समेट्नु भएको छ ।’

प्रतिक्रिया