समाजमा विकृति र विसंगति हुन नदिन आफ्नै ठाउँबाट परिवर्तन आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताएकी छन् । आज सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताइन् ।
उनले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनिकरण गर्न समाजिक संघसंस्थाहरुको ठूलो भूमिका रहेकाले सामाजिक संस्थाहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वाङ्गिण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताइन् । कतिपय सरकारी विद्यालयहरुमा पूर्वाधारहरु कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरुको वृत्ति र तालिमको समस्या रहेकोले त्यसलाई समाधान गर्दै लैजानु पर्ने बताइन् । राष्ट्रपति भण्डारीले विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङहरुमा न्यूनिकरण गर्न सकिने दाबी गरिन्।
राष्ट्रपति भण्डारीले समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताइन् । उनले पश्चिममा छाउपडीको समस्याले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको भन्दै यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलाहरुमाथि आपराधिक घटनाहरु भइरहेकोले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।
महिला र पुरुष भएरनै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषरह नै अधिकार दिनुपर्ने बताइन् । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नु पर्ने बताइन् ।

प्रतिक्रिया