शुक्रबार, पुष ११, २०८२

आधै घट्यो भारतबाट आउने सामान !

एलसी अनिवार्य गरिएका कारण नेपालका व्यापारीहरुले सामानको लोडिङ रोकेका छन् ।

नेपालखोज २०७८ पुष २१ गते १८:०७

काठमाडौं । नेपालको आयातसम्बन्धी नयाँ नियमका कारण भारतबाट हुने निर्यात करिब आधा भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दैनिक हिन्दुस्तानको एक समाचारअनुसार सुनौली बोर्डरबाट पहिले सालाखाला पाँच सय मालवाहक ट्रक नेपाल प्रवेश गरे पनि अहिले प्रतिदिन सरदर दुई-अढाई सय मालवाहक ट्रक मात्र नेपाल गइरहेको छ । समाचारमा जनाइएअनुसार यसबाट उक्त सीमाबाट हुने भारतीय निर्यातमा करिब ६० प्रतिशतले कमी आएको छ । भनिन्छ पहिले मालवाहक ट्रकको भिडका कारण सुनौली र नौतनवा हाइवेमा सधैं जाम देखिन्थ्यो भने अहिले त्यहाँको वातावरण सुनसान जस्तै छ ।

भारतीय पक्षका अनुसार नेपाल राष्ट्र बैंकले आयातसम्बन्धी नयाँ नियम बनाएको छ । २० डिसेम्बरदेखि लागु भएको यो नियमले फलफूल, तरकारी तथा खाद्य पदार्थलाई छाडेर करिब सय किसिमका सामानलाई प्रभावित तुल्याएको छ । जसमा टाइल्स तथा मार्बल प्रमुख छन् । समाचारअनुसार नेपालका व्यापारीहरुले रेट कम लगाएर ती सामानको भन्सार कटाउँथे । यसले कालोबजारी तथा कर चोरी बढेको थियो ।

नेपालको अर्थ मन्त्रालयको पहलमा नेपाल राष्ट्र बैंकले यो नयाँ नियम लागु गरेको बताइएको छ । जसबाट अब कालोबजारी तथा कर छली कम हुने अपेक्षा गरिएको छ । भनिन्छ यो नयाँ नियमपछि जतिको सामान आयात गरिएको छ त्यत्तिकैको कर तिर्नुपर्नेछ ।

भैरहवा भन्सार कार्यालय, नेपालका प्रवक्ता तीर्थराज पासवानलाई उद्धृत गर्दै दैनिक हिन्दुस्थान लेख्छ- यसअघि नेपाली व्यापारीहरु भारतीय व्यापारीहरुसँग उधारोमा सामान मगाएर डीडी वा आरटीजीएसबाट भुक्तानी दिन्थे । अब नयाँ नियमअनुसार एलसी अर्थात् लेटर फर क्रेडिटद्वारा भुक्तानी अनिवार्य गरिएको छ । यही कारणले नेपाली व्यापारीहरुले सामानको आयात नै रोकेका छन् ।

सुनौली ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष रतन गुप्ता भन्छन्- एलसी अनिवार्य गरिएका कारण नेपालका व्यापारीहरुले सामानको लोडिङ रोकेका छन् । गुप्ताका अनुसार प्रतिदिन ६५० गाडी सामान बोकेर नेपाल जाने सुनौली नाकामा अब त्यस्ता गाडीको संख्या २०० मा झरेको छ ।

मसला, चकलेट तथा लग्जरी आइटममा असर
बेलहिया कस्टम कार्यालयका अनुसार नयाँ नियम लागु भएपछि मसला, चकलेट, सुर्ती, पेय पदार्थ, कस्मेटिक, फर्निचर, सिसाका सामान, कार, मोटरसाइकल, मार्बल, ग्रेनाइट, टाइल्स आदिको आयात लगभग शून्य जस्तै भएको छ ।

अहिले केवल खाद्यान्न, औषधि तथा फलफूल र तरकारि आयात भइरहेको छ भने त्यसको परिमाण र आइटममा पनि ठूलो गिरावट देखिएको छ ।

नेपाल सरकारको यो नयाँ नियमपछि नेपालका व्यापारीहरु भारतबाट सामान मगाउन बन्द गरेर बैंक धाउन थालेका छन् । सरकारको नयाँ नियमअनुसार एड्भान्स पेमेन्ट (अग्रिम भुक्तानी) मा पनि रोक लगाइएको छ । अब सामान कस्टम परिसरमा पुगेपछि मात्र भारतका एक्सपोर्टरहरुलाई भुक्तानी दिन सकिन्छ ।

भैरहवाका व्यापारी सोहनलाल अग्रवाललाई उदृत गर्दै हिन्दुस्तानले लेखेको छ- यो नयाँ नियमबाट साना व्यापारीहरुलाई मार पर्नेछ भने पुँजीपतिहरुलाई बढावा मिल्नेछ । पहिले नेपालका व्यापारीहरु एक-दुई लाख रुपैयाँ लिएर दिल्ली, गुजरातदेखि सामान ल्याउँथे अनि भन्सार कटाएर नेपालमा ती सामान बेच्थे । अब भने बैंकमा एलसी खोलेर कारोबार गर्दा कमसेकम दश दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया