अमेरिकामा १७ वर्षे विद्यार्थीलाई घरमा बोलाएर खोप लगाइदिने शिक्षिका पक्राउ

काठमाडाैं । औपचारिक चिकित्सकीय योग्यताबिनै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाइदिएको आरोपमा न्यूयोर्कस्थित एक विद्यालयकी शिक्षिकालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।
प्रहरीकाअनुसार लौरा रुसोले एक विद्यार्थीलाई घरमै खोप दिएकी थिइन् । उनीसँग खोप लगाइदिने कानुनी अधिकार छैन र उनले विद्यार्थीका आमाबुवासँग अनुमति पनि मागेकी थिइनन् ।
जीवविज्ञान पढाउने ५४ वर्षीय रुसोलाई नववर्षको पूर्वसन्ध्या पक्राउ गरिएको थियो। दोषी प्रमाणित भएको अवस्थामा उनलाई चार वर्षको जेल सजाय हुन सक्छ । सत्र वर्षीय विद्यार्थीले नै खोप लगाउन चाहेको समेत जनाइएको छ ।
खोप प्रयोगको तरिका नमिलेमा जोखिम निम्तिन सक्छ । चिकित्सक र अनुमतिप्राप्त स्वास्थ्यकर्मीले खोप नक्कली हैन वा म्याद सकिएको छैन भन्ने कुरा प्रमाणित गर्नुपर्छ । खोप लगाउने व्यक्तिसँग उसको विगत र वर्तमान स्वास्थ्य अवस्थाबारे गर्नुपर्छ र खोप लगाएपछि निगरानीमा राख्नुपर्छ ।
प्रहरीका अनुसार रुसोले उक्त खोप कसरी पाइन् र त्यो कुन कम्पनीको हो भन्ने स्पष्ट छैन। हालसम्म अमेरिकामा फाइजर-बायोएनटेकको खोप मात्र १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा प्रयोग अनुमति दिइएको छ ।
लङ आइल्यान्डमा भएको उक्त घटनासम्बन्धी भिडिओमा शिक्षिकाले ती किशोरलाई भनेकी छन्ः “मलाई लाग्छ तिमीलाई राम्रो हुन्छ।”
प्रतिक्रियामा ती किशोरले ‘घरकै खोप’ भनेका छन् । किशोर घर फर्किएपछि उनका आमाबुबाले प्रहरीलाई तत्काल घटनाबारे जानकारी दिएको अधिकारीहरूले बताएका छन् । ‘उनीसँग खोप रहेछ,’ नासाउ प्रहरी कमिशनर प्याट्रिक राइडरले भने । ‘उनले कसरी ती खोप पाइन् भन्नेबारे अनुसन्धान भइरहेको छ।’
रुसोले अध्यापन गर्ने हेरिक्स हाई स्कूलका निरीक्षकले एउटा विज्ञप्ति जारी गर्दै आरोपित शिक्षक जिल्ला तहबाट नियुक्त कर्मचारी भएको र उनलाई अनुसन्धानको प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि अध्यापन गर्नबाट रोक लगाइएको जानकारी सार्वजनिक गरेको अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजले जनाएको छ ।
रुसोविरुद्ध पेसाको अनधिकृत अभ्यास गरेको आरोप लगाइएको छ । अदालतको यो मुद्दाको सुनुवाइ ज्यानुअरी २१ मा हुनेछ । बीबीसी
प्रतिक्रिया