शुक्रबार, चैत १६, २०८०

खोसिय‍ो ९० वर्षदेखिको सर्वोच्चता !

नेपालखोज २०७८ पुष २३ गते १०:३६

काठमाडौं । अमेरिकाको दिग्गज अटो कम्पनी जनरल मोटर्सले बितेका ९० वर्षदेखि अन्तर्राष्ट्रिय मोटर बजारमा कायम गर्दै आएको दबदबा अब समाप्त भएको छ । जनरल मोटर्स अब अमेरिकामा सबैभन्दा बढी कार बेच्ने कम्पनी रहेन । जापानी कम्पनी टोयोटाले जनरल मोटर्सको स्थान हात पारेको छ । टोयोटाले गएको वर्ष अमेरिकी बजारमा २३ लाखभन्दा बढी गाडी बिक्री गरेको बताइन्छ । टोयोटाले २०२१ मा जनरल मोटर्सभन्दा पाँच प्रतिशत अर्थात १ लाख १४ हजार बढी गाडी बेचेको थियो ।

जनरल मोटर्सले गएको वर्ष करिब २२ लाख गाडी बिक्री गरेको थियो भने २०२० मा २५ लाख गाडी बेचेको थियो । कम्पनीको तथ्यांकअनुसार जनरल मोटर्सको बिक्री १३ प्रतिशतले घटेको छ । सेमीकन्डक्टर चिप्सको कमीले पनि जनरल मोटर्सको उत्पादन दुस्प्रभावित भएको हो । जनरल मोटर्सले १९३१ देखि नै अमेरिकी बजारमा सबैभन्दा बढी कार बेच्ने श्रेय पाउँदै आएको थियो । यद्यपि जनरल मोटर्सले २०२२ मा फेरि आफ्नो गुमेको स्थान हासिल गर्न हरसम्भव प्रयास गर्ने कुरा बताएको छ ।

विश्लेषकहरुका अनुसार २०२० को तुलनामा २०२१ मा अमेरिकी बजारमा नयाँ कारको बिक्री दुई प्रतिशतले बढेको छ । यद्यपि यो प्रि-कोभिडको तथ्यांकभन्दा निकै कम हो । यति बेला मोटर कम्पनीहरु कोरोनाका कारण उत्पन्न सप्लाई चेनको समस्याबाट गुज्रिरहेका छन् भने गाडीको मूल्यसमेत बढेको छ । यता अरु अटो कम्पनीहरु जस्तो टोयोटाले चिप्सको कमी झेल्नुपरेन । यसका कारण २०११ को भूकम्प र सुनामीपछि टोयटाले चिप्सको भण्डारणमा ध्यान पुर्याउनु नै हो ।

भनिन्छ कोरोना महामारी सुरु हुनुभन्दा पहिलेदेखि नै अमेरिकाका ठूला कार कम्पनीहरु बिक्रीको मामिलामा अन्य विदेशी कम्पनीभन्दा पछाडि हुन थालिसकेका थिए । कुनै बेला अमेरिकी कारको कुल बिक्रीमा फोर्ड, जनरल मोटर्स तथा क्रिसलरको हिस्सेदारी ९० प्रतिशत जस्तो थियो । २००८ सम्म पनि अमेरिकामा बिक्ने आधाजसो कार यिनै कम्पनीका हुन्थे ।

प्रतिक्रिया