हिंसात्मक प्रदर्शनबीच रुसले नेतृत्व गरेको सैन्य बल कजाकस्तान प्रवेश गर्याे

काठमाडाैं । सरकार विरोधी प्रदर्शन जारी रहेका बेला कजाकस्तानका राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बलको एउटा टुकडी कजाकस्तान प्रवेश गरेको छ ।
इन्धनको मूल्यवृद्धिलाई लिएर केही दिनदेखि सुरु भएको अस्थिरताबीच प्रमुख सहरमध्ये एक एल्माटीमा मसिन गन प्रहारको आवाज सुनिएको छ । अधिकारीहरूले त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाएका छन् ।
राष्ट्रपतिले विना कुनै प्रमाण विदेशमा प्रशिक्षण लिएका ‘आतङ्कवादीहरू’ माथि पछिल्ला घटनाका लागि दोष दिएका छन् ।
बुधबारको एउटा टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ ) लाई प्रदर्शन मत्थर पार्न सहयोग गर्न अपिल गरेका थिए ।
उक्त सङ्गठनमा रुस, कजाकस्तान, बेलारुस, ताजिकिस्तान अनि आर्मिनिया सदस्य छन्। हाल कजाकस्तानमा पठाइउन लागिएको कुल सैन्य सङ्ख्या २,५०० रहने बताइएको छ । सीएसटीओले ती सुरक्षा अधिकारीहरू शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ ।
उनीहरू कजाकस्तानमा केही दिन वा केही हप्ता बस्न सक्ने एक रुसी समाचार संस्थाले जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले आफूहरूले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
प्रदर्शन चर्किएसँगै कजाकस्तानमा सङ्कटकाल घोषणा गरिएको छ । सरकारी निकायहरूले गाडीमा प्रयोग गरिने इन्धनको मूल्य बढाएसँगै देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको हो ।
मूल्य वृद्धि फिर्ता लिने पछिल्लो सरकारी कदमले प्रदर्शनकारीहरूलाई शान्त बनाउन सकेको छैन। कजाकस्तानमा रातभरि हिंसा जारी रहेको बताइएको छ । अधिकारीहरूले एलमाटी सहरको एउटा प्रमुख चोकमा पुनः नियन्त्रण कायम गरेका छन् ।
कैयौँ प्रदर्शनकारीहरू मारिएको बताइएको छ तर त्यसको यकिन सङ्ख्या भने प्राप्त हुन सकेको छैन । अधिकारीहरूले सुरक्षा निकायका १८ जना मारिएको जनाएका छन् । बीबीसी
प्रतिक्रिया