राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वार जिताउन सत्तारुढको घनिभूत छलफल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ । आज बसेको बैठकले राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारलाई जिताउनेबारे घनिभूत छलफल गरेको छ ।
प्रधानमन्त्रीको उपस्तितिमा बसेको बैठकमा सरकार सञ्चालनबारे पनि छलफल छलफल भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसेको हो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको बैठक बिहीबार पनि बसेको थियो । बैठकमा एमालेले गरिरहेको संसद् अवरोधका विषयमा पनि छलफल गरिएकाे छ। प्रतिनिधिसभाको बैठक पुस २८ गते बस्दै छ । संसद् बैठकमा अवरोध नगर्न आग्रह गर्दै बुधबार रामचन्द्र पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए ।
बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनैपनि हिसाबले उचित नभएको बताए । संसद सुचारु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले बताए ।
उनले भने, ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मुल रुपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ । र यो बैठक हिजोकै बैठकको निरन्तरता रहेको छ । र अर्को विषय संसद लामो समयदेखि अवरुद्ध छ । यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन । त्यसैले संसदलाई सुचारु गर्ने बारेमा पनि छलफल भएको छ । संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भुमिका र कर्तव्य रहन्छ । त्यसैले संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ ।’
सरकारलाई सहयोग गर्न भनेर समन्वय समिति बनाइएको हो । समितिमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरु सदस्य छन् । कांग्रेसबाट कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल छन् ।

प्रतिक्रिया