नेप्सेको सीईओका लागि पहिलो चरणमा ५ आवेदक छनोट (नामसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँचजना छनोट भएका छन् ।
प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।
छनोट भएका उम्मेद्वारमा रिब्दीकोट ७, पाल्पाका कृष्णबहादुर कार्की, ललितपुर २३ का डा. केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापाका प्रविन पन्दाक, शिवसताक्षी झापाका रमेश घिमिरे र आँटफैला नवलपरासीका डा. रमेशकुमार भण्डारी छन् ।
समितिको सूचनाअनुसार छनोटमा परेका उम्मेद्वारका लागि आगामी आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताकोे मिति तय गरिएको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउँदले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेद्वारी माग गरिएको थियो ।
समितिले उल्लेखित उम्मेद्वारबाट तीनजनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ ।

प्रतिक्रिया