‘कर्मचारीलाई ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्छ’ (भिडियोसहित)

नेपालखोज २०७८ पुष २३ गते १७:२९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन् । आज गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताए ।

उनले सरकारी कार्यालयहरुमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसकेपनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताए । उनले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरुले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताए । गृहमन्त्री खाँडले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरु आफैँले ९ देखि ५ बनाइदिनु भएको छ । हेर्दा सजिलो छ । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थमन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ ।’

गृहमन्त्री खाँडले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताए । उनले सरकार र सरकारी कार्यालय सबैको साझा भएकाले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । गृहमन्त्री खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकाले जनताको माग बुझेर सरकारलाई दबाव दिन पनि आग्रह गरे ।

उनले भने, ‘हामीले गरेका निर्णयहरुमा सल्लाह दिने, सुझाव दिने दायित्व तपाईहरुको नै हो । तपाईहरुको सल्लाह, सुझावलाई गृहमन्त्रालय स्वागतको रुपमा लिन्छ । गृहमन्त्रालयमा रहेका सबै कर्मचारी संगठनप्रति हाम्रो सद्भाव छ । गृहमन्त्रालय सबैको साझा मन्त्रालय हो ।’

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया