‘सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरे पनि व्यवस्थित गर्न सकेन’

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले विशेष ध्यान पुर्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्याउनु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्दा आजको समस्याहरु देखा परेको बताइन् । सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको उनले बताइन् ।
त्यस्तै, काठमाडौं विश्वविद्यालयका प्रशासकीय अधिकृत दिपक दाहालले चिकित्सा शिक्षा ऐन व्यवहारिक हुन नसकेको बताए । चिकित्सा शिक्षा ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने उनले बताए । ऐनले सबै कुरालाई केन्दीकृत गरेको भन्दै उनले यसो गर्दा समस्या उत्पन्न हुने उल्लेख गरे ।

अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले राज्यले चिकित्सा शिक्षामा स्पष्ट नीति र योजना बनाई स्रोत र लगानी बढाउनुपर्ने बताए । उनले निजी मेडिकल कलेजहरु राष्ट्रियकरण गरी राज्यले सञ्चालन गर्नुपर्ने धारणा राखे । गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने पनि उनले बताए ।
अध्यक्ष शाहीले सरकार, विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुमा प्रभावकारी अनुगमन गरी दोषी उपर कारबाही गर्नुपर्ने बताए । विश्वविद्यालयहरुले जथाभावि सम्बन्धन दिने प्रक्रिया रोक्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया