सहकारीको व्याजदर बढाउने होइन घटाउनु पर्छ : मन्त्री श्रेष्ठ

नेपालखोज २०७८ पुष २३ गते २०:१९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छन् । साझा सेवा (सहकारी संस्था) लिमिटेडले आज ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उदेश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताईन् ।

मन्त्री श्रेष्ठले नीतिगत, कानुनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको भन्दै नियतमा भएको खरावी अन्त्यका लागि सबै लाग्नु पर्नेमा जोड दिईन् । उनले संविधानमा व्यवस्था भएको तिनखम्बे नीतिअनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्दै गरिवी न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सकिने पनि बताईन् ।

बजार अनुशासन, मर्यादा र कारोवारमा पारदर्शिता कायम गर्दै जनतालाई महसुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरुले कार्ययोजना नै बनाएर अगाडी बढ्नु पर्नेमा समेत मन्त्री श्रेष्ठले जोड दिईन् । समारोहमा मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने केशव बडाललाई प्रदान गरिन् ।

यसअघि, आजै नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सहकारीमा व्यजदर बढाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्नेमा जोड दिईन् । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोहीअनुसार मन्त्रालयले भिजन पेपर तयार पारी रहेको र केही दिनभित्रै उक्त भिजन पेपर सार्वजनिक गर्नेसमेत मन्त्री श्रेष्ठले जानकारी दिईन् ।

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताईन् ।

प्रतिक्रिया