सकारात्मक सोचका साथ समृद्ध अभियानमा लाग्न मन्त्री श्रेष्ठको आग्रह

नेपालखोज २०७८ पुष २३ गते २०:३०

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन् ।

सरसफाइ अभियन्ता नमस्तेलाल भूमि श्रेष्ठको पुस्तक सकारात्मक सोंच, खोज र रोजुको विमोचन गर्दे मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गरेका हुन् । धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्दे उनले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएको बताए ।

देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र बढी उपलब्धि मुलक बनाउने योजना सरकारले अघि बढाएको उनले बताए । उद्यमशीलता विकास, सीप विकास तालिम जस्ता योजनामार्फत युवालाई नेपालमा नै अवसर प्रदान गर्ने सरकारको प्राथमिकता रहेको उनले बताए ।

वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा सिकेको सीप र अनुभवको भरपुर सदुपयोग गर्न पुनःएकीकरणको योजना अघि बढाएको बताउँदै उनले नेपाललाई बलियो र आर्थिकरूपमा सम्पन्न बनाउनु पर्ने धारणा व्यक्त गरे । देशलाई विकसित गर्ने र आधुनिक राष्ट्रको निर्माण गर्न सकारात्मक सोंचका साथ अघि बढ्न उनले आग्रह गरे ।

प्रतिक्रिया