तराईमा शीतलहर, पहाडमा कुहिरोले धुम्म

नेपालखोज २०७८ पुष २३ गते २१:०२

काठमाडौं । भोलि काठमाडौं उपत्यकालगायत देशभर कुहिरोले छोप्ने भएको छ । जलवायुविज्ञ डा.धर्मराज उप्रेतीका अनुसार भोलि काठमाडौं उपत्यका लगायत देशभर कुहिरोले ढाक्ने भएको छ । जसले गर्दा हवाई यातायात अवरुद्ध हुने र अन्तर्राष्ट्रिय उडानहरुसमेत डाइभर्ड हुने अत्यन्तै सम्भावना रहेको छ ।

डा. उप्रेतीका अनुसार नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । भोलि अरब सागरबाट जलवाष्पसहितको वायुले हल्कादेखि भारी वर्षाको पुर्वानुमान छ । पश्चिमी वायुले उत्पन्न गरेको न्यून चापिय अवस्था दक्षिण–पश्चिम राजस्थानमा रहेको छ । जसले गर्दा सुदूरपश्चिम प्रदेशमा आज राति वर्षा हुँदैछ, भने देशका सबैजसो उच्च हिमाली तथा पहाडी क्षेत्रमा २५ पुषको बिहानसम्म वर्षा तथा हल्कादेखि भारी हिमपातको सम्भावना छ । पुष २५ को साँझदेखि भने मौसममा सुधार हुँदै जाने डा. उप्रेतीले बताएका छन् ।

अबको ४/५ दिन अध्याधिक चिसो हुने
यस्तो समयमा तातो र झोलिलो पदार्थ खाने, न्यानो लगाउने, घाम ताप्ने तथा व्यायाममा पनि ध्यान दिन सके चिसोका कारण हुने विभिन्न खालका रोगबाट जोगिन सकिने चिकित्कस बताउँछन् । चिसोमा सामान्यतया रुघाखोकी, निमोनिया, डाइरिया जस्ता अरु पनि विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

त्यस्तै, जोडो मौसममा चिसोबाट जोगिन भन्दै आगो ताप्ने, हिटर बाल्ने, कोइला बाल्नेलगायतका कार्य गर्दा सावधानी नअपनाउँदा धेरै जनधनको क्षति हुने गरेका छन् । यसरी आगो ताप्दा, कोइला बाल्दा विशेष सावधानी अपनाउनु पर्दछ । सावधानी नअपनाइदा हरेक वर्ष जाडो मौसममा आगलागीका धेरै नै घटना हुने गरेका छन् । जसमा धेरै जनधनको पनि क्षति हुने गर्दछ । त्यसैले जोडो समयमा न्यानो हुन बालिएको आगोलाई समयमै राम्रोसँग निभाउने, हिटर, कोइला बालिएको छ भने झ्याल ढोका नथुनि बाल्नु पर्दछ ।

तराईमा शीतलहर
डा. उप्रेतीले तराईका जिल्लाहरुमा शीतलहर सुरु भइसकेको बताएका छन् । उनले तराईका जिल्लाहरुमा दुई पटक शीतलहर आइसकको बताएका छन् ।

केही दिन अघि उच्च हिमाली तथा पहाडी जिल्लामा भएको हिमपातको आसपासमा तराईका जिल्लामा शीतलहर सुरु भइ बिचमा केही सामान्य भएर फेरि अहिले सुरु भएको उनले बताएका छन् । शीतलहर सुरु भइ बढेको अत्याधिक चिसोले तरारईका जिल्लामा कठ्याङ्ग्रिएर तीन जनाले ज्यान गुमाइ सकेका छन् । अत्यधिक चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको थियो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको थियो ।

त्यस्तै, मंगलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको पनि मृत्यु भएको थियो । अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदासमेत दिइएको छ ।

पोखरामा वायु प्रदूषण अत्याधिक
जलवायुविज्ञ डा. उप्रेतीका अनुसार पोखरामा अत्याधिक वायु प्रदूषण बढेको छ । पोखरामा पछिल्लो चौबीस घण्टामा २१४ एक्यूआइ (एयर क्वालिटी इन्डेक्स) अर्थात् धेरै अस्वस्थ अवस्थाको रहेको छ । त्यहाँ पिएमको अवस्था १५५ दशमलव ९ रहेको छ ।

पोखरा अहिले नेपालकै सबैभन्दा प्रदूषित शहरका रुपमा देखिएको छ ।त्यसपछि दोस्रोमा नेपालगञ्ज र तेस्रोमा सिमराको वायुप्रदूषण धेरै अस्वस्थ अवस्थामा रहेको छ । काठमाडौंको अवस्था भने अहिले सामान्य रहेको उनले बताएका छन् ।

प्रतिक्रिया