बुधबार, वैशाख १९, २०८१

लँगौटीले मुख छोपेर हाँसिरहेको सरकार !

तीर्थ श्रेष्ठ २०७८ पुष २४ गते ९:२२

देखेको छु
पीडाको महासागरमा डुबेपछि
आक्रान्त भएर
आफ्नै हत्केलाले मुख छोपेर सान्त्वनाको गीत
सकि नसकी गाइरहेको मान्छे
आफन्तले देखाएको बर्बर आफन्तपनमा
च्यातिएको योनीमुख हत्केलाले छोपेर
आफैँमा अश्रुसागरमा अनुवाद भइरहेकी
एक अबोध बालिका
देशले आफ्नै आँगनमा बाँच्ने अवसर खोसेकै कारण
मरुभूमिमा पसिना पोख्दा पोख्दै
पसिना सुकेकै कारण
बाकसमा बन्द भएर आँखामा प्रश्न चिन्ह टांगेर फर्केको युवकको लास
मान्छेको हातको स्पर्श नपाएर रुखो भएको जमिन
देश र जनताको सरोकारमा बेसरोकार
म देखिरहेछु
लँगौटीले मुख छोपेर
हाँसिरहेको सरकार !

तीर्थ श्रेष्ठ

तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।

प्रतिक्रिया