सोमबार, असोज १७, २०७९

‘मलाई यहाँहरूको सकारात्मक गाली चाहिएको छ’

नेपालखोज २०७९ भदौ २० गते १३:४४

२०३६ कात्तिक २६ गते कास्कीको भरतपोखरीमा पिता लीलबहादुर थापा र माता गिनकुमारी बोहोराका सुपुत्रका रूपमा जन्मिएका अशोक थापाले त्रिभुवन विश्‍वविद्यालयबाट एमए, एमबीएस्सी (पुस्तकालय विज्ञान) तथा शिक्षाशास्त्र सङ्कायमा स्नातक गरेका छन्।

नाटक विधामा रुचि राख्ने थापाले त्रिविबाट विद्यावारिधि (पीएचडी) उपाधि पनि हासिल गरिसकेका छन् । उनको पहिलो रचना (जनमत, २०५८) भूपि शेरचनका विषयमा प्रकाशित देखिन्छ। यसबाहेक उनका भाषासाहित्यसँग सम्बन्धित झन्डै तीन दर्जन समालोचना तथा पुस्तकालय विज्ञान विषयका दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्।

उदिएमान समालोचकका रूपमा देखिएका थापाको नाट्य समीक्षा र अन्य समालोचना (२०६५) नामक अनुसन्धानात्क समालोचनात्मक ग्रन्थ प्रकाशित छ।यसका अलवा थापाले नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने कुञ्‍चिनी, सार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिबजस्ता पत्रिकाको सम्पादक तथा प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन् ।

नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा शिक्षणरत थापाले पुस्तकालय व्यवस्थापन विषयमा पनि प्रशिक्षण दिन्छन् ।साहित्यको समीक्षा र टिप्पणीमा रुचि राख्ने थापा निकै गहकिलो समालोचकीय दृष्टिसहितको समालोचक हुन्। नेपाल पुस्तकालय संघका अध्यक्षका रूपमा उनी कार्यरत थिए । उनको रुचि नाटक लेखन, मञ्चन र अनुसन्धानमा रहेको देखिन्छ । प्रस्तुत छ नेपालखोजका लागि शुभद्रा ढकालले थापासँग गरेको कुराकानी :

कथासङ्ग्रह सन्तापको धूनलाई पढ्दा कल्पनाको कथासङ्ग्रह (साहित्य) भन्दा पनि यथार्थपरक सामाजिक परिस्थितिहरू भेटिन्छन् । यस्तो किसिमको कथासङ्ग्रहको सिर्जना गर्ने सोच तपाईंमा कसरी आयो ?
यो समय नै यथार्थवादी साहित्यले नेतृत्व गरेको समय हो । यथार्थवादले परिवर्तन र चुनौतीका बीचमा प्रकाश छर्छ । त्यसैले अतिकल्पना भन्दा यथार्थको पीठिकामा साहित्य लेख्न मन लाग्यो ।

साहित्य लेखनमा कसरी जागृत हुनु भयो । अर्थात उमेर चार दशक हिँडिसकेपछि तपाईंमा सिर्जनात्मक उत्प्रेरणा कसरी आयो ?
बालककालदेखि नै मेरो हृदयमा गुम्फित भावनाले बसोबास गरेको रहेछ । त्यसको उल्झन बोध गरेँ । द्रवित हुन्छु अनि निचोडमा पुग्छु संवेदित भएपछि सलाईका काँटी मात्र जल्दा रहेनछन्, अन्तस्चेतनामा जलेको पाउँछु अक्षरहरू पनि । सुशुप्त अवस्थामा रहेको भावना र समाजको विविध घटनाले सङ्क्रमित भएपछि साहित्य लेख्न उत्प्रेरित गर्‍यो ।

सन्तापको धूनभित्रका १३ कथा फरक-फरक भए पनि पढ्ने क्रममा एउटा व्यक्तिले विभिन्न समयमा गरेका, भोगेका, सहेका र देखेका सामाजिक क्रियाकलापहरू अटाएका छन् । तर कथामा दृश्य र दृष्टान्त फरक-फरक छन् । एउटै कथा संग्रहमा यतिका दृष्टान्त कसरी समेट्न सक्नुभयो ?
समाज विविधतामय छ । यो विभिन्नतामा चिन्तनहरू पनि फरकफरक छन् । यस्तै फरकपन भएका फरक सोच भएका मानवीय व्यवाहर पनि भिन्न भएकाले कथामा पनि भिन्न दृष्टान्तहरू प्रयोग हुन पुगेका होलान् ।

अधिकांश लेखकहरूका साहित्यिक कृतिहरू पढ्दा लेखकहरूले मान्छेको शरीर, शरीरभित्रका पनि विभिन्न अंग, शारीरिक सौन्दर्य, मधुरवचन, शरीरको आकार-प्रकारलगायत कुराहरूको गज्जबले वर्णन गरेको भेटिन्छ । तर तपाईंले ‘गाजल बेच्ने केटी’ शीर्षकको कथामा शरीरको सबैभन्दा छुच्चो अंग आँखा भन्नुभएको छ, यसको अर्थ के बुझ्ने पाठकले ?
मेरा कथाहरूमा स्वछन्द यौनलाई देखाउने अभिप्रेरणाबाट रचना गरिएका होइनन् । उदार यौनलाई देखाउने अभिप्रेरणा नभएकाले यी कथामा यौन लक्षित शारीरिक अंगको चर्चा नगरिएको हो । आँखालाई छुच्चो अंग भनेर व्यञ्जनामा भनिएको किनकि आँखाले झुट बोल्दैनन् ।

आजको समयमा साहित्यलाई पनि परम्परागत र आधुनिक तरिकाले हेर्ने गरेको पाइन्छ । आजका दिनमा धेरैजसो लेखकहरूले आधुनिक धार समाएका छन्, तर आधुनिक युगमा पुगेर पनि आधुनिकताको चमत्कारका कमजोरीलाई समेटेर परम्परागत कथातर्फ तपाईंका कथा मोडिएका छन् । परम्परागत कथाको कथा शैलीबाट तपाईं प्रभावित भएको देखिन्छ । यसको कारण के हो ?
यस कथासङ्ग्रहमा परम्परागत कथा शैलीको प्रयोग भएका छैनन् बरु मिथकीय साहित्यचेत, स्वैरकल्पना, अति यथार्थजस्ता आधुनिक प्रविधिको प्रयोग गरिएको छ । सरलताका सन्दर्भमा प्रयोग गरिएका समाख्यानलाई परम्परागत भन्न मिल्दैन कि ?

कथा ‘बेचेका कुलदेवता’ मा तपाईंले कुलदेवतालाई नयाँ संस्करणको उपमा दिनुभएको छ । यो कसरी हुनसक्छ कि कुलदेवता भनेका नयाँ संस्करण हुन् ?
यहाँ कुलदेवतालाई नयाँ संस्करण भनिएको होइन कि प्रतीकात्मक रूपमा कुलदेवता भनेको अर्को संस्करण हो प्रकृतिको भन्न खोजिएको हो । पर्यावरण संरक्षण र भूमिको स्वामित्वको संकट यस कथामा उठाउने प्रयास गरिएको छ ।

सिर्जनात्मक पहिलो कथा संग्रह कृतिको विमोचन हुँदा यहाँलाई कस्तो लागेको छ ?
म एकदम उत्साही छु । मलाई दुई कारणले चुनौतीको अनुभूति भएको छ किनभने यो मेरो पहिलो सिर्जनात्मक कृति हो । दोस्रो विश्वविद्यालयमा साहित्य शिक्षण गर्ने व्यक्तिको सिर्जनाको पटल कस्तो हुने हो ? भन्ने त्रास पनि छ ।

यहाँले लामो समयसम्म मदन पुरस्कार पुस्तकालयमा काम गर्नुभयो र अहिलेको समयमा विश्‍वविद्यालयमा अध्यापन गराउँदै हुनुहुन्छ । यसको मतलब तपाईंले मदन पुस्तकालय र विश्वविद्यालयमा बसेर नेपाली कथाबारे अध्ययन गर्ने मौका पाउनुभएको छ । आजसम्म नेपाली साहित्यमा लेखिएका कथाहरू र तपाईंको कथा सङ्ग्रहका बीचमा कुनै भिन्नता छ कि ?
प्रस्तुतिमा भिन्नता नभए पनि निकै किनारामा परेका पात्र र परिस्थितिले समाजमा झट्कारिएका पात्रको आख्यानीकरण गर्ने सन्दर्भमा समकालीन कथालेखनमा केही नवीनता दिने प्रयास गरिएको छ । अविभावक गुमाएर यो निर्दयी संसारको छातीमा बजारिन पुगेका बालबालिकाको कथा नयाँ तरिकाले लेखिएको छ ।

वर्तमान समाज, सामाजिक परिस्थिति, मौलाएको मनुष्य प्रवृत्ति, राजनीतिक अवस्था, सामाजिक व्यवस्था, हाम्रो शैक्षिक प्रणाली र स्तर, वर्तमान समयमा हाम्रो काम गर्ने तरिका । यी कुराहरूलाई देख्दा ३०/४० वर्ष अगाडिको समाजसँग यसलाई तुलना गर्ने हो भने हामी कतै न कतै नजानुपर्ने बाटोतिर गइरहेका छौं कि भन्ने लाग्छ । नेपाली साहित्यको कथाजगत् पनि यी कुराहरूबाट अछुतो रहन सकेन । तपाईं एक कथाकारका तर्फबाट यी सारा कुराहरूलाई कसरी हेर्दै हुनुहुन्छ ?
दुई कारणले मेरा कथाहरू अलि पछाएर आए । पहिलो हो व्यक्तिगत करियरमा केन्द्रित भएर स्थायी जागिर, विद्यावारिधि अनुसन्धान आदि कारणले । दोस्रो मलाई पछिल्लो समयमा नै सिर्जनाको झट्काले सङ्क्रमित बनायो अनि कथा सिर्जाना गरेँ ।

तपाईंका शुभेच्छुक, शुभचिन्तक र नेपाली साहित्यका पाठकावर्गलाई केही भन्न चाहनुहुन्छ कि ?
म सिर्जनामा आएको छु । मलाई व्यक्तिगत रूपमा आफ्नो सिर्जना राम्रो लाग्नु स्वाभाविक छ तर मलाई दूर भविष्यमा सिर्जना यात्रामा सफल बनाउन यहाँहरूको सकारात्मक गाली चाहिएको छ ।

प्रतिक्रिया