शुक्रबार, वैशाख १४, २०८१

श्रुतिले भन्नुभयो- दाइ, अलि नजिक आउनुस् न !

दिनेश अधिकारी २०७८ पुष २४ गते १२:४९

यी तस्बिरहरू ३ जेठ, २०५६ सालका हुन् । तत्कालीन अधिराजकुमारी श्रुती राज्यलक्ष्मी राणाले नेपालको पहिलो भीसीडी प्लान्ट तथा माष्टर रेकर्डिङ स्टुडियोको उद्घाटन हुँदा आयोजित समारोहको हो। सोही समारोहमा नाट्य – भिडियोका लागि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, संगीतका लागि शम्भुजित बास्कोटा, गायनका लागि आनन्द कार्की, चलचित्रका लागि अशोक शर्मा र गीत-लेखनका लागि म दिनेश अधिकारीलाई अधिराजकुमारीले माष्टर सम्मान समर्पण गर्नुभएको थियो । सोही समारोहमा गीतकार तथा चलचित्र निर्देशक यादव खरेलको गीति भिडियो एल्बम पनि सार्वजनिक गरिएको थियो।

यो तस्बिर सम्मान समर्पणपछि खिचिएको सामुहिक तस्वीर हो जसमा वायाँबाट क्रमश: साउण्ड इन्जिनियर तथा चलचित्र निर्देशक प्रदीप उपाध्याय, तत्कालीन सञ्चार सचिव श्रीराम पौडल, यादव खरेल, शम्भुजीत बास्कोटा, आनन्द कार्की, तत्कालीन अधिराजकुमारी श्रुती राज्यलक्ष्मी राणा, म दिनेश अधिकारी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अशोक शर्मा र माष्टर रेकर्डिङका विनोद मित्तललाई देख्न सकिन्छ भने दोस्रो तस्बिर चाँही सम्मानित स्रष्टा- कलाकारको तर्फबाट मैले मन्तव्य राख्दै गर्दाको हो।

तस्बिर हेर्दै गर्दा मलाई के पनि सम्झना हुन्छ भने यो सामुहिक तस्बिर खिच्नका लागि मञ्चमा बोलाइँदा सुरुसुरुमा जाने मध्ये म परेँ । शिष्टतावस् म अधिराजकुमारीसँग अलिकता दूरी कायम राखेर उभिएँ । मञ्चमा मानिसहरू आउने क्रम बढ्दै जाँदा ठाउँ नपुग जस्तो लागेपछि उहाँकै इसारामा दूरी अलिकति घटाएँ । फेरि पनि ठाउँ पर्याप्त भएन । दोस्रो पटक उहाँले मुखै फोरेर भन्नुभयो – दाइ,अलि नजिक आउनुस् न ! त्यसपछि मैले सहज अनुभव गरेर नजिकै सरेको थिएँ।

प्रतिक्रिया