मंगलबार, जेठ ८, २०८१

बौद्धिकताको परिचायक विराटनगरका राधाबाबु

रामबाबु दाहाल २०७८ जेठ १५ गते ११:५०

‘आज जे नेपालले सोच्छ बाँकी नेपालले भोलि मात्र सोच्छ ‘यो भनाइ थियो दिवंगत मातृकाप्रसाद कोइरालाको । पहिलो गैरभारदार जनताको छोरो प्रधानमन्त्री भएका मातृकाबाबु धेरै समय विराटनगरको स्थानीयताको अभिवाभकत्व प्रदान गर्दै रहनुभएको थियो । उहँको भौतिक अवसानपश्चात त्यो स्थान राधाबाबुले (राधाप्रसाद घिमिरे) पाउनुभएको थियो । विराटनगरमै बसेर क्षयरोग नियन्त्रण संस्था, कोसी अञ्‍चल अस्पताल विकास समिति, ट्रान्सपरेन्सी इन्टरनेसनल विराटनगर सहयोगी समूहजस्ता सार्वजनिक संघ-संस्थाको अगुवाइ गर्नुभएका राधाबाबु विराटनगरको बौद्धिक निधि एलिट क्लबको संस्थापकमध्ये एक मुख्य अभियन्ता हुनुहुन्थ्यो ।

२०१४/१५ सालमा राधाबाबु, शैलेन्द्रकुमार उपाध्याय, गोपालप्रसाद शर्मा, जगतमोहन अधिकारी, शत्रुघनप्रसाद उपाध्याय, तोरेन्द्रमान सिंह, टेकचन्द्र पोखरेल, नारायणप्रसाद अर्याल, डा. भीमकृष्ण मल्ल शिवप्रसाद रिजालको संयुक्त प्रयासमा एउटा क्लबको परिकल्पना भयो ! जसको नामकरण के गर्ने भनेर महिनौं छलफलपश्चात जुर्यो एलिट क्लब।

बौद्धिक बहस छलफल अनि अन्तर्राष्ट्रिय जर्नलको पठन त्यो क्लबका प्रारम्भिक गतिविधि थिए । बीपी कोइराला यदाकदा विराटनगर आउँदा प्राय: सोधिरहनुहुन्थ्यो रे के छ एलिटको चर्चा ? र भन्नुहुन्थ्यो रे मलाई पनि रहर छ त्यहाँ भाग लिउँ ! एकपटक त लुकेर पनि सुन्नु भएको प्रसंग सुनाउनु हुन्थ्यो रे ।

मनमोहन भरतमोहन जगतमोहनका पिता सु रामचन्द्र अधिकारी त पछि एलिटको आफ्नो भवन भएपछि त्यहाँ तासको बृज खेलेको त यो पंक्तिकारले पनि देखेको हो । बीपीले २०२४ सालमा भारत निर्वाशन हुनपूर्व एलिट क्लबमा सम्बोधन गरेको त्यो बढो महत्त्वको आफ्नो दृष्टिकोण प्रस्तुत गरेको रेकर्ड सायद छ कि भनि धेरै अन्तर्वार्ताका प्रसंगमा उल्लेख पनि गर्नु भा छ । र भन्नु भा छ एलिट क्लबजस्ता नेपालमा २/४ संस्था हुने हो भने प्रजातन्त्र स्थायित्व हुने थियो ।

अर्थात् एलिट र राधाबाबु पर्याय जस्तै बुझिन्थ्यो । जीवनका यौवन अवस्थामा वामपन्थबाट प्रभावित सम्भ्रान्त परिवारका राधाबाबु नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुनु भई संस्थापक केन्द्रीय सदस्यमध्ये एक हुनुहुन्थ्यो । १०/११ सालमा उहाँ पाल्पा माझ खण्डमा इन्चार्ज भइ खटिइनु हुँदा कमरेड मोहनविक्रम सिंहलाई प्रशिक्षित गरी पार्टी सदस्यता प्रदान गर्नुभएको थियो ।

२०१७ सालको राजनीतिक परिवर्तनपश्चात केही समय भूमिगत रहनुभएका उहाँ केही समयपछि मामली परिवारका दाजु नगेन्द्रप्रसाद रिजालको दबाब र प्रभावमा राजा महेन्द्रको पञ्‍चायत व्यवस्थालाई समर्थन गर्नुभयो । यस समय उहाँ व्यावसायिक रुपले पायोनियर प्रिन्टिङ प्रेसको सञ्चालक पनि हुनुहुन्थ्यो । रोचक कुरा के छ भने पायोनियर यो शब्द एलिट क्लबको नाम जुराउने सन्दर्भमा पनि उहाँकै प्रस्ताव थियो । तर एलिटमा सबैको सहमति भयो । विराटनगरको अस्पताल चोक पश्चिम हाल कवि लक्ष्मण नेबेटियाले किनेको घर घडेरीमा रहेको उहाँको प्रेसमा तत् समय सबै भूमिगत राजनीतिक पक्षहरुको पर्चा छाप्ने काम हुने गर्थ्यो भने आमोदप्रसाद उपाध्याय, भरतमोहन अधिकारी, डीपी अधिकारी मनमोहन अधिकारी, चन्द्रिका लोहनीलगायत बौद्धिक राजनीतिक व्यक्तित्वको जमघट गफगाफ गर्ने अखडा पनि रहेको थियो । यो क्रम ३०/३१ सालसम्म रह्यो ।

३० सालतिर उहाँ राष्ट्रिय पञ्चायतमा राजाद्वारा मनोनित हुनुभयो । सिंहदरबार आगलागी काण्डपछि ३१ सालमा नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भए । रिजालको मन्त्रीमण्डलमा प्रारम्भमा उहाँ राजनीतिक सल्लाहाकार हुनुभयो । पछि राज्यमन्त्री । त्यो बेलामा राजा वीरेन्द्रको राज्याभिषेक गराउने चुनौती थियो । सञ्चारमन्त्री हुँदा तत्कालीन प्रमुख पत्रिकाहरुमा नयँ सन्देश, समीक्षामाथि सरकारले प्रतिबन्ध लगायो । उहाँमाथि वाक् तथा प्रकाशन स्वतन्त्रताविरोधी आरोप पनि लाग्यो । रिजाल परिवारको भान्जा भएकाले ‘मामा भान्जा’ शीर्षकमा समाचार टिप्पणी हुने गर्दथें । रिजाल सोझा र भद्र कहलिन्थे । तर कपटी स्वभाव थियो रे ! राधाबाबुको पञ्चायतकालमा राजनीतिक उन्नयन नगेन्द्रप्रसादको कारणले नभई कीर्तिनिधि विष्टले गर्दा भएको संस्मरण यो पंक्तिकारलाई सुनाउनुहुन्थ्यो ! उहाँले सुनाएअनुसार राधाबाबुको कूटनीतिक सेवामा राजनीतिक नियुक्तिको इच्छा र रहर थियो । नगेन्द्रप्रसादले उहाँको व्यक्तित्व उपयोग मात्र गर्ने तर कहीँ कतै सिफारिस नगर्ने बुझेर उहाँले कीर्तिनिधि विष्टसँग आफ्नो सम्बन्ध बढाउनुभयो । विष्ट विराटनगरका चन्द्रिकाप्रसाद लोहनीको नातेदार थिए । चन्द्रिकाबाबु विराटनगरका सम्भ्रान्त सज्जन थिए । विष्ट विराटनगर आउँदा लोहनीकैमा बस्दथे । विष्टको मोरङमा खेतिपाती पनि थियो ।

विष्टसँग कूटनीतिक क्षेत्रमा राजनीतिक नियुक्तिका लागि अनुरोध गर्दा सुरुमै राजदूत दिने चलन छैन दिल्लीमा सांस्कृतिक सहचारीको पद खाली छ त्यसैबाट पछि राजदूत पनि हुन सकिन्छ जाने हो भने म राजालाई बिन्ति गरौंला भनेछन् । कूटनीतिको अभिरुचि भएकाले हुन्छ भन्नुभएको थियो रे । केही समयपछि अञ्चलाधीशमार्फत काठमाडौं आउन खबर आयो । प्रेस सञ्चालनको जिम्मा अर्कालाई लगाएर काठमाडौं पुग्नुभयो । महिनौंसम्म नियुक्ति भएन । विष्टसँग किन भएन खै गर्दा विष्टले भने रे ‘एकपटक राजासँग कुरा भएको हो हुन्छ भनेका हुन् कता अल्मलियो ! बरु म दर्शन भेट मिलाइदिन्छु तपाईं आफैं कुरा गर्नुस् भने ।

केही दिनमै दरबारबाट राजा वीरेन्द्रको दर्शनभेटका लागि ख़बर आयो ! १५ मिनेटको समयावधि तोकिएकामा ५५ मिनेटसम्म राजाले अभिरुचिपूर्वक संवाद गरिरहे । अन्त्यमा अब तिम्रो केही भन्नु छ ? भन्दा विष्टसँग भएको कुरा गरे ! वीरेन्द्रले निधार खुम्च्याउँदै पढेलेखेका सुझबुझ भएका सबै एब्रोड हुने अनि मलाई यहाँ कल्ले सघाउँछ भने रे । त्यति भए इशारा काफी थियो । केही समयमै रापसमा मनोनयन भए । त्यसपछि रिजाल प्रधानमन्त्री हुने काकतालीमा राधाबाबु पनि मन्त्री हुने संयोग पर्यो ।

कूटनीतिक ज्ञान र चातुर्यता राधाबाबुमा प्रचुर थियो ! डा देवेन्द्रराज पाण्डे त्यो समयमा अर्थ मन्त्रालयमा सह-सचिव थिए । राधाबाबुसँग केहीपटक सँगै विदेश भ्रमणको अनुभव सुनाउदा उहाँको उच्च मूल्यांकन रहेको मैले सुनेको छु ।

राजा वीरेन्द्रको राज्याभिषेकमा शान्ति क्षेत्रको प्रस्तावमा राधाबाबुको पायोनियर चिन्तनको प्रतिफल होभन्दा अत्युक्ति हुन्न । बौद्धिक क्षमता परख गर्ने र साथ सहयोग लिन बिनापूर्वाग्रह अघि सर्ने राधाबाबुको खास विशेषता थियो । साहित्यकार धनुषचन्द्र गौतमले धेरैपटक आफ्नो संस्मरण लेखन क्रममा यो कुरा उजागर गरेका छन् ।

५७/५८ सालदेखि एक दशक हामी विराटनगरमा भ्रष्टाचारविरोधी अभियान ट्रान्सपरेन्सी इन्टरनेसनलमा सम्बद्ध रह्यौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की , महान्यायाधिवक्ता मेघराजबहादुर विष्ट, पूर्वराजदूत वैजनाथ थपलिया, उपकुलपति उपेन्द्र कोइराला पूर्वमेयर रमेशचन्द्र पौडेल , वरिष्ठ साहित्यकार परशु प्रधान, नारायणप्रसाद कोइराला, डा. भेषप्रसाद धमला ,रेखबहादुर भट्टराई, दिनेश श्रेष्ठ, शोभन नेपाल, ज्ञानचन्द दुगड, गंगाविशन राठी, विश्वराज पाण्डेलगायत मूर्धन्य व्यक्तिले यस अभियानमा सघाएका थिए । उहाँको साथ संगत र अभिरुचि यस प्रकारको संयोजनले पनि दर्शाउँछ ।

प्रतिक्रिया