शनिबार, जेठ ४, २०८२

रुसी सेना काजकस्तानमा खटाइएपछि अमेरिका आक्रोशित

नेपालखोज २०७८ पुष २४ गते १०:४५

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले हिंसात्मक प्रदर्शनविरुद्ध लड्न रुसी सैन्य सहायता खोज्ने काजकस्तानको निर्णयमाथि प्रश्न उठाएका छन् । काजकस्तानमा इन्धनको मूल्य वृद्धिविरुद्ध सुरु भएको विरोध प्रदर्शनमा दर्जनौँ मानिसले ज्यान गुमाएका छन् । रुसी नेतृत्वमा तैनाथ हुने २५ सय सेनामध्ये केही काजकिस्तान पुगेका छन् ।

परिस्थितिको सामना गर्न काजकस्तान सरकार सक्षम रहेको अमेरिकी सरकारको विश्वास छ । ब्लिङ्कनले पत्रकारहरूसँग त्यहाँ किन सेना तैनाथ गरियो प्रस्ट नभएको बताएका छन् । मस्कोका अधिकारीहरूले सामूहिक सुरक्षा सन्धि संगठन सीएसटीओअन्तर्गत अस्थायी रूपमा सेना तैनाथ गरेको जनाएका छन् ।

सीएसटीओ पाँच पूर्वसोभियत गणतन्त्र र रुसको सैन्य गठबन्धन हो । उक्त संगठनमा रुस, काजकस्तान, बेलारुस, ताजिकिस्तान अनि आर्मिनिया सदस्य रहेका छन् । प्रदर्शनकारीहरूले काजकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीका नगरप्रमुखको कार्यालय र विमानस्थलमा आक्रमण गरेपछि राष्ट्रपति कासीम जोमाट टोकाएभले सीएसटीओसँग सहयोगको आग्रह गरेका थिए ।

केही रुसी सैन्य बल काजकिस्तान पुगेर शुक्रवार नै विमानस्थलबाट प्रदर्शनकारीहरूको हटाउन त्यहाँका सेनालाई मद्दत गरेका थिए । यसैबीच काजकिस्तानका सेनाले अल्माटीमा पुनः आफ्नो नियन्त्रण कायम गर्न कडा कारवाही गरेको छ । बिहीवार स्थानीय सञ्चारमाध्यमले सरकारी सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको भिडिओ सार्वजनिक गरेका थिए ।

आन्तरिक मन्त्रालयका अनुसार सेना र प्रदर्शनकारीबीच झडपमा हालसम्म २६ सशस्त्र विद्रोहीहरू र १८ सुरक्षा अधिकारीहरू मारिएका छन् । राष्ट्रपति टोकाएभले प्रदर्शनका लागि विदेशी ‘आतंकवादी’ जिम्मेवार रहेको आरोप लगाएका छन् ।

काजकिस्तानका धेरै मानिसले आफ्नो सवारीसाधनको इन्धनका रूपमा प्रयोग गर्ने तरल पेट्रोलियम ग्यास एलपीजीको मूल्य बढेर दोबर भएपछि आइतवादेखि विरोध प्रदर्शन सुरु भएको हो । सरकारले छ महिनाका लागि इन्धनको मूल्य पुरानै कायम राख्ने बताएको छ । तर प्रदर्शनकारीहरूले अन्य राजनीतिक समस्याप्रति गुनासो गर्दै आन्दोलन जारी राखेका छन् ।

काजकिस्तानमा प्रभावकारी प्रतिपक्ष छैन र अधिकांश चुनावहरूमा सत्तारूढ दल करिब शतप्रतिशत मतका साथ जितेका छन् । देशका पूर्वराष्ट्रपति नुरसुल्तान नजरबायेवले २९ वर्ष शासन गरेर पद छोडेपछि पनि शक्ति कायम राखेका थिए । टोकाएभले उनलाई देशको सुरक्षा परिषद्को प्रमुखबाट हटाएका छन् । -बीबीसी

प्रतिक्रिया