प्रदेश २ मा कोरोना संक्रमण दर बढ्दै
खोप लगाउनेको संख्या निराशाजनक

जनकपुर । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको छ । यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश नं २ का प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ ।
गत बिहीबार ६८ को स्वाव परीक्षण गर्दा ९ र शुक्रबार ३१ को स्वाव परीक्षण गर्दा सातजनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो पटक दुई दिनमा धनुषामा पाँच, सिरहा र महोत्तरीमा चार÷चार, सप्तरी, सर्लाही र पर्सामा एक÷एक गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिएका छन् । योसँगै प्रदेशभरि सक्रिय संक्रमितको संख्या ७७ पुगेको छ । संक्रमितहरु सबै होम आइसोलेसन रहेका छन् ।
कोरोना संत्रक्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या भने निराशाजनक देखिएको छ । सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश नं २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक झाका अनुसार पुस महिना बित्नै लाग्दा यो प्रदेशमा पूर्ण डोज लगाउनेको संख्या ३८ प्रतिशत मात्र छन् भने एक डोज मात्र लगाउनेको संख्या करिब ५० प्रतिशत छ ।
पुस महनिाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यो प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले जसरी गम्भीरतापूर्वक लिनुपर्ने थियो त्यो नलिएका कारण खोप लगाउनेको सख्या नबढेको निर्देशक झाको भनाइ छ ।
कोरोना भाइरस सङ्क्रमण सुरु भएयता हालसम्म प्रदेश नं २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म यो प्रदेशमा दुई लाख २३ हजार २१३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना संत्रक्रमित भएका छन् । त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
छिमेकी मुलुक भारतमा तेस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहँदा माघको दोस्रो साताबाट नेपालमा पनि तेस्रो लहर फैलिन सक्ने विज्ञहरु चेतावनी दिइरहेका छन् । त्यसैले सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न खोपलाई प्राथमकिता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताए ।
प्रतिक्रिया