‘चुनावपछि पनि गठबन्धनको निरन्तरता हुनेछ’

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा एमालेले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन÷नियम बनाउन नसकिएको बताएकी छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई आज सम्बोधन गर्दै उनले विघटित प्रतिनिधिसभा पुनःस्थापित भए पनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई बन्धक बनाउनु भएको दाबी गरिन् ।
‘जनताको सार्वभौम थलो प्रतिनिधिसभा हो, त्यहीँबाट जनताका लागि कानून बन्ने हो, आज त्यो ठप्प छ, त्यसैले प्रतिगमनको खतरा टरिसकेको छैन, यसप्रति सबै सचेत हुनुपर्छ’, मन्त्री भुसाालले भनिन् । उनले संविधानले निर्दिष्ट गरेको सामाजिक न्यायमा आधारित समाजवाद निर्माणमा लागेको पनि जानकारी दिइन् ।
मन्त्री भुसालले खतरा टरिनसकेकाले प्रतिक्रान्तिको खतरा रहुञ्जेलसम्म गठबन्धन रहने र चुनावमात्रै होइन चुनाव पछि पनि निरन्तरता दिने सोचमा रहेको जनाइन् । उनले प्रतिनिधिसभा चलेको भए सघीयय निजामती ऐन, प्रदेश निजामती ऐन, स्थानीय सेवा ऐन बनिसक्ने जानकारी गराउँदै स्पष्ट नीति नियमको अभावमा प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको दावी गरिन् ।
संसद् नचल्दा कानून बन्न नपाएको र कानून नबन्दा अधिकार बाँडफाँडको कुरासमेत अड्किएको उनले जनाइन् । मन्त्री भुसालले २० युनिटभन्दा तल विद्युत् खपत गर्नै साढे २६ लाख घरका एक करोड ३० लाख जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराएको पनि बताइन् । अन्यको हकमा शुल्कसमेत घटाएको जानकारी दिँदै उनले सिँचाइको नीति अघि बढाएर ग्रामीण क्षेत्रका किसानको जीवनस्तर माथि उठाउने प्रयास थालिएको प्रष्ट पारेकी छन् ।

प्रतिक्रिया