बिहीबार, वैशाख १३, २०८१

कोरोनाविरुद्वको तयारीमा कमजोरी नरहोस्

नेपालखोज २०७८ पुष २५ गते १३:५२

अहिले फेरि एकपटक कोरोना भाइरसको प्रकोपले संसारलाई आफ्नो चपेटामा लिन थालेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसहित पुराना भेरिएसनहरुको मारमा युरोप, अमेरिकादेखि हाम्रा दुई निकट छिमेकी भारत र चीन पनि परेका छन् । संसारका विभिन्न भागमा फेरि एकपटक लकडाउन र प्रतिबन्धका दिनहरु फर्किएका छन् । यही क्रममा हामीकहाँ पनि एक साताभित्रै कोरोना संक्रमितहरुको संख्या लगातार बढेर खतराको स्थितिमा पुगेको छ ।

यस्तोमा कोरोनाको सम्भावित आक्रमणविरुद्धको तयारीमा सबैको ध्यान जानु स्वभाविक हो भने सरकारी तयारी त्यसतर्फ केन्द्रित हुनु अहिलेको प्राथमिक आवश्यकता हो । यस क्रममा सरकारले सबैलाई सजग रहन आग्रह मात्र गरेको छैन देशभरका स्वास्थ जनशक्ति तयारी अवस्थामा राख्ने, स्वास्थ उपकरणहरुको व्यवस्थापन चुस्तदुरुस्त राख्ने, परीक्षणलाई विस्तार गर्ने, आइसोलेसन र होल्डिङ सेन्टर व्यवस्थित तुल्याउनेदेखि लिएर सीमानाकाहरुमा कडाइ गर्नेसम्मका निर्णय गरी आवश्यक काम गरिरहेको जनाएको छ ।

समस्या आइलागेपछि मात्र तदारुकता देखाउने वा आत्तिने प्रवृतिविपरीत समयमै आवश्यक तयारी गर्ने कुरामा सरकार कतै चुक्नु हुँदैन । लकडाउन जस्तो प्रतिकूल स्थिति सिर्जना हुन नदिन बेलैमा कठोर निर्णय लिन सक्नुपर्छ । भारतमा बढेको कोरोनाको वेग र ओमिक्रोन भेरियन्टको तीव्रता एवं जटिलतालाई मध्यनजर गर्दै हाम्रो तयारी र व्यवस्थापन त्यसैतर्फ केन्द्रित हुनुपर्नेछ भने विगतका कमी-कमजोरीहरु सच्याउने तथा पुराना गल्ती नदोहोर्‍याउन आवश्यक व्यवस्था मिलाउनु पनि अहिलेको प्राथमिकता हुनुपर्छ ।

यसैगरी सुस्तजस्तै देखिन थालेको कोरोनाविरुद्वको खोप अभियानलाई आवश्यक र जोखिमपूर्ण क्षेत्र वा वर्गसम्म पुर्याउनु पनि उत्तिकै आवश्यक छ । नेपालमा हालसम्म करिब ४० प्रतिशत जनसंख्याले खोप लगाएको स्थितिमा खोपको पहुँच वृद्धि नै कोरोनाविरुद्ध लड्ने सशक्त हतियार हो भन्ने कुरा मनन गर्नु पनि उत्तिकै जरुरी छ । हाम्रोजस्तो मुलुकका लागि स्वास्थ सामग्रीहरुको उपलब्धता, खोपमा पहुँच निकै जटिल कुरा भएकाले सरकारले कोरोना जाँचका किटदेखि लिएर खोपका लागि आवश्यक साधन, हस्पिटल बेड (शय्या) देखि लिएर आइसोलेसन सेन्टरसम्म तयारी अवस्थामा राख्ने मात्र होइन यसको अभाव हुन नदिन व्याकअपको व्यवस्थासम्म मिलाउन कुनै कसर बाँकी राख्नु हुँदैन ।

हामीले सधैं भोगेर आएजस्तो समस्या आइलागेपछि जताततै लथालिंग र भताभुंगको अवस्था सिर्जना नहोस् भन्नका खातिर सरकारी प्रयाससँगै आमजनताको जागरुकता एवं सक्रियताको पनि आवश्यकता रहन्छ । यसमा प्रदेश तथा स्थानीय सरकारहरुको भूमिका पनि महत्त्वपूर्ण रहने निर्विवाद छ । समस्या बढेर ठूलो क्षति हुनुभन्दा समस्याको रोकथाम तथा व्यवस्थापनमा बेलैमा ध्यान पुर्याउनु बुद्धिमत्ता हुन्छ ।

विश्वसनीय तथा भरपर्दो स्वास्थ सेवा जनताको अधिकार हो भन्ने कुरालाई मनन् गर्दै कोरोनाको सम्भावित तेस्रो लहरविरुद्ध सरकारको ध्यान केन्द्रित हुनु तथा जनताको जीवनरक्षा गर्ने कुरामा कुनै कमी-कमजोरी हुन नदिनु नै सरकारको अहिलेको प्राथमिकता हुनुपर्छ । कोरोनाविरुद्धको तयारीलाई चुस्त र त्रुटिविहीन बनाउने कुरामा ध्यान पुर्याउन नसके ठूलो क्षति बेहोर्नुपर्ने हेक्का सम्बद्ध सबैमा रहोस् ।

प्रतिक्रिया