गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने

नेपालखोज २०७८ पुष २५ गते १५:०५

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन् । मेयर दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् ।

आइतबार संचारकर्मीसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागि सकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन् ।

मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन् । मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरिन् ।

उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताइन् । उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताइन् । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरिन् ।

मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरिन् । उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताइन् । मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरिन् ।

उनले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताइन् । मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकोले गर्दा अर्बौं बजेटका योजनाहरु गर्न सफल भएको बताएन् ।

मेयर दाहालले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताइन् । उनले चितवन जिल्लाका लागि प्रचण्ड आवश्यक रहेको भन्दै पहुँच बिना अर्बौंका योजना सुरु गर्न सम्भव नभएको बताएन् । मेयर दाहालका अनुसार आफ्नो कार्याकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ ।

प्रतिक्रिया