‘रंगशालाको स्वामित्व अब महानगरपालिकाले लिनेछ’

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन् । मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् ।
न्यूज एजेन्सी नेपालसँग आज (आइतबार) भरतपुरमा महानगरपालिकाको कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउन्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने जनाइन् ।
मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने जनाइन् । मेयर दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरिन् ।
उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको दाबी गरेकी छन् । उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताइन् । मेयर दाहालले महानगरको विकास र शीर्ष नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरिन् ।
मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरिन् । उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको जनाइन् ।मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरेकी छन् ।
उनले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताइन् । मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकोले गर्दा अर्बौं बजेटका योजनाहरु गर्न सफल भएको बताइन् ।

प्रतिक्रिया