उर्वरा जमिनबाट कृषि उत्पादन गरी आर्थिक उपार्जन गर्न आग्रह

नेपालखोज २०७८ पुष २५ गते १५:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन् । ललितपुर महानगरपालिका वडा नं २१ स्थित नख्खु खोलामा मुहान निर्माण सुरु गरिएको हो ।

ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चालनमा आएको स्थानीयको भनाइ छ । सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकोमा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर सञ्चालन गरिँदै आएको छ ।

स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालु आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि रु एक करोड ३२ लाख र नहर निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो ।

कुलोको मुहान शिलान्यासका अवसरमा मन्त्री भुसालले ऊर्वराभूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा विक्री गर्नेभन्दा पनि उर्वरा जमीनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन् । तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले एतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन् ।

संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, “हामीले भनेको समाजवाद हाम्रै सीप र परीश्रमबाट आउने हो, त्यसका लागि हामीले निरन्तर सिर्जनशील काम गर्नुपर्छ ।”

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले एतिहासिक खोकना राजकुलोको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले एतिहासिक कुलो स्तरोन्नतीबाट खोकनाबासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै विनियोजित बजेटलाई सही तवरले सदुपयोग हुने बताए । कार्यक्रममा ललितपुर महानगर वडा नं २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले खोकनावासीका खेत सिञ्चित गर्नका लागि राजकुलो महत्वपूर्ण भएको र कुलो स्तरोन्नतीका लागि विनियोजित बजेट सही सदुपयोग गरेर सिँचाइ प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा खेतीयोग्य जमीन खण्डीकरण हुन नदिनेतर्फ आफूले ध्यान दिने बताए ।

आज शिलान्यास गरिएको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैसीपाटी र खोकनाका करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ । यस प्रणालीबाट करिब दुई हजार घरधुरी एवं सात हजार जनङ्ख्या लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

खोला किनारको अतिक्रमणका कारण बहाव क्षेत्रफल घट्दै गएका कारण खोला किनार असुरक्षित हुँदै गएकाप्रति स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए । उनीहरूले एतिहासिक सिँचाइ प्रणालीलाई संरक्षण गर्नका लागि सरकारसँग माग गर्दै आएका थिए ।

प्रतिक्रिया