कमल थापाको राष्ट्रिय एकता अभियान पनि स्थगित

नेपालखोज २०७८ पुष २५ गते १६:५७

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पुष २७ गतेबाट गर्न लागेको राष्ट्रिय एकता अभियान रोकेका छन् । उनले आज सामाजिक सन्जालमार्फत एकता अभियान रोकेको जानकारी दिएका हुन् ।

कोरोना भाइरस संक्रमणका कारण एकता अभियान रोकिएको थापाको भनाई छ । उनले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै एकता अभियान रोकेको बताएका हुन् । उनले राप्रपाका जिम्मेवार पार्टी सदस्यहरुको अनुरोधमा एकता अभियान रोकिएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ ।’

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगई बसेका थापाले राष्ट्रिय एकता अभियान गर्न लागेका थिए । उनले आफ्नो शक्ति प्रदर्शन गर्न अभियान गर्न लागेका थिए । उनले आफ्नो हारको कारण निर्मल निवास भएको आरोप लगाएका छन् । उनले पार्टी फुटाउनेसम्मको चर्चा हुने गरेको छ ।

संक्रमण कै कारण विवेकशील साझा पार्टीले पनि राष्ट्रिय एकता यात्रा स्थगित गरेको छ ।

प्रतिक्रिया