मन्त्री पौडेलले सेवाग्राहीसँग भने– सेवामा कुनै समस्या छ कि छैन ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गरेका छन् । आज मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गरे ।
निरीक्षणमा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरुलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिए । ‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ’ मन्त्री पौडेलले सेवाग्राहीसँग भने, ‘ तपाईहरुलाई दिने सेवामा कुनै समस्या छ कि छैन ?’
मन्त्रीको प्रश्नमा सेवा ग्राहीले लामो समय लाइनमा बसेर भएपनि काम सकेर जाने गरेको बताए । शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताए । उनले भने, ‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गर्छाैं । रातको अन्तिम उडान नभएसम्म सुत्दैनौं ।’ कतिपयले अन्यबाटोबाट ‘नो अब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किएको निरौलाको भनाई छ । मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । कर्मचारी अभाव भएका कारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसिकएको उपसचिव निरौलाले बताए ।
नो अब्जेक्सन लेटर अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको उपसचिव निरौलाले बताए । शाखाले अनलाइनमार्फत निवेदन प्रमाणित गरी सेवा प्रदान पनि गर्दै आइरहेको छ ।

प्रतिक्रिया