‘सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको छ’

नेपालखोज २०७८ पुष २६ गते १६:३७

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागिरहेको बताएका हुन् । सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको र लुटमारमा लागि परेको दाबीसमेत गरे ।

अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजको तर्क गरे । उनले ‘समृद्ध नेपाल: सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे । दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअलमलिईकन एमालेमा आउनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले एमालेमात्रै मुलुकको परिवर्तन चाहने बामपन्थी पार्टी भएको पनि दोहोर्‍याए । उनले भने, ‘अन्य पार्टीमा अझै पनि साथीहरु अलमलिई रहनु भएको छ । ती साथीहरुलाई र खास गरेर बामपन्थी खोल ओडेर, कम्युनिष्टको खोल ओडेर, प्रतिक्रियावादी काम गर्ने, दक्षिणपन्थीहरुको सेवा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने र आफूलाई लगेर प्रतिक्रियावादी खेमामा समाहित गर्ने नक्कली बामपन्थी, आडम्बरी बामपन्थी, बामपन्थीको खोल ओडेका त्यस्ता तत्वहरु र तीनका पार्टीहरुमा अव नअल्मलिनका लागि म दाजुभाई दिदीबहिनीहरुलाई म आग्रह गर्न चाहन्छु । साथीहरुलाई आग्रह गर्नु चाहन्छु । बामपन्थी खोल ओडेका पार्टीमा साथीहरु नअलमलिनुस् । नेकपा एमालेका आउनुस् । नेकपा एमालेमात्रै बामपन्थी अर्थात परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, जनतालाई अधिकार सम्पन्न बनाउने, सामाजिक न्याय र समानता दिने यो पार्टी हो ।’

अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको पनि बताए । कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दाबी गरे ।

अन्य दलहरुले गठबन्धन गरेर आएपनि आगामी निर्वाचनमा एमालेलाई हराउन नसक्ने उनको दाबी थियो । कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका जिल्ला तहका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया