पृथ्वी जयन्तीमा कसले के भने ?

उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन । हरेक देशका साँझा सम्पदा हुन्छन् । राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा हो । पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको यो उपलक्ष्यमा म सबै नेपालीहरु बीचको सम्बन्ध अझै प्रगाढ हुदै जाओस् , हामीलाई कहिल्यै कसैले टुटाउन फुटाउन नसकोस्, यही कामना गर्दछु ।
हिजो माओवादी द्वन्द्वकाल र ‘नयाँ नेपाल’ निर्माणको भूत सवारको समयमा पृथ्वीनारायण शाहलाई सम्झन पनि कठिन थियो । तर, हामी केहीले यो आवाजलाई मर्न दिएनौं । आज यो संख्या ठूलो छ । यो खुसीको कुरा हो । पृथ्वीनारायण शाहका दिव्योपदेश राज्य सञ्चालनको बडापत्र हुन् । तिनको अनुसरण गरिनुपर्छ । कतिपय दल र व्यक्तिले सुझाएजस्तै यो दिनलाई ‘नेपाल दिवस’ को दिनका रूपमा मनाउनुपर्छ।
भीमार्जुन आचार्य, अधिवक्ता
राज्य विस्तारको योजनामा अगाडि बढेका पृथ्वीनारायण शाह आज नेपाल एकीकरणका प्रणेता हुन पुगेका छन । जस्ले जे सुकै अर्थ लगाउन छिरलिएर रहेका वाईसे चौवीसे राज्यहरूलाई एकीकरण गरेर सिगो नेपाल राज्य निर्माण उनैले थालेका थिए । यतिवेला हामी विश्वको मानचित्रमा नेपाल देखाउन पाएका छौ । नेपाली भनेर विश्वमा परिचय दिन पाएका छौ । यो सुअवसर दिलाउने तत्कालीन राजा पृथ्वीनारायण शाहलाई श्रद्धा सुमन ।
बद्री विनोद प्रतीक, पत्रकार
स-साना भुरेटाकुरे राज्यलाई एकीकरण गरेर नेपाल राष्ट्र बनाउने श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहप्रति हृदयदेखि नै श्रद्धासुमन व्यक्त गर्दछु । उनले नेपाल एकीकरणको अभियान नचालेको भए ती कमजोर राज्यहरुलाई तिब्बत तथा ब्रिटिशले सजिलै कब्जामा लिने थिए । अहिले हामीमध्ये कोही तिब्बती, कोही इन्डियन हुने थियौं ।
जसले आफ्नो इतिहास, पुर्खा, धर्म, संस्कृति, भाषा तथा परम्पराप्रति गर्व गर्दैन, उ सच्चा राष्ट्रबादी हुनसक्दैन । हाम्रो राष्ट्रिय एकतामा बिभिन्न तह र तप्काका जनताको साथ थियो । त्यसको सारथि पृथ्वीनारायण शाह नै थिए । अनेकतामा एकता हाम्रो विशिष्ट पहिचान हो ।
यहाँहरु सबैलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त गर्दछु ।
डा. रवीन्द्र समीर, चिकित्सक
आउनुस् हामी पनि नेपाल दिवस मनाऔं ।
यो देशको संविधान भनेकै पृथ्वीनारायणका दिव्य उपदेश हुन् । राष्ट्र निर्माता श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहको ३००औं जन्म जयन्तीको उपलक्ष्यमा सबै नेपालीमा शुभकामना ।
रमा सिंह, पत्रकार
पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण हामीले नेपाली भन्न पाएका छौं । जसले आफ्नो इतिहास, पुर्खा, धर्म, संस्कृति, भाषा तथा परम्पराप्रति गर्व गर्दैन, ऊ सच्चा राष्ट्रवादी हुन सक्दैन । अनेकतामा एकता हाम्रो विशिष्ट पहिचान हो । राज्यले पृथ्वीनारायण शाहको योगदानको उचित सम्मान गर्नुपर्छ ।
राज श्रेष्ठ, पत्रकार
पृथ्वीनारायण शाहले आफ्नो परिवारका सदस्यको हित या सन्तानको सुख-सुविधाका लागि राष्ट्रको निर्माण गर्नु भएको थिएन । सम्पूर्ण नेपालीको साझा फूलबारीको रुपमा उहाँले ससाना राज्यलाई एकीकरण गरी नेपाल राष्ट्र बनाई दिएका कारण आज हामीले नेपाली भन्ने गौरब प्राप्त गरेका छौं । नेपाल देशका नाममा बिभिन्न ओहदामा पुग्ने कतिपयले उहाँको नाममा दिएका गैर जिम्मेवार अभिब्यक्तिहरु सुन्दा आश्चार्य लाग्छ । राष्ट्र निर्माताको सम्मान गर्न नसक्नु आफ्नै सम्मान गर्न नसक्नु हो ।
बबिता बस्नेत, पत्रकार
आज आधुनिक नेपालको जग हाल्ने राजा पृथ्वीनारायण शाहप्रति कृतज्ञता ज्ञापन गर्ने दिन हो ।
मनीषा कोइराला, अभिनेत्री
पृथ्वीनारायण शाहलाई स्मरण गर्न, गुणगान गर्न र जयजयकार गर्न बिदा नदिई हुन्न भन्ने सोच्नु बेवकुफी हो । विदाले देशको उत्पादकत्व घटाउँछ । यक्षमल्लले एकीकरण गरेको तर पछि विश्रृखलित नेपाललाई पृथ्वीनारायण शाहले पूनरएकिकरण गरेको हो । हार्दिक नमन !
विप्लवमान सिंह, व्यवसायी
नेपालको एकीकरण तत्कालीन अवस्थाको राष्ट्रिय आवश्यकता थियो । कसै न कसैले त्यो अभियानको नेतृत्व गर्नु पर्ने थियो । पृथ्वीनारायण शाहबाट एकीकरणको अगुवाई भयो । एकीकरणको अभियानमा नेपालका सबै जात, जाति, महिला, पुरुष, बालबालिका, युवा, बृद्ध, बृद्धा सबैको उत्साहजनक सहभागिता रहेको इतिहास साक्षी छ। यसक्रममा साझा नेपाल राष्ट्र र साझा नेपाली राष्ट्रियता निर्माण भएको हो । जो आजका तीन करोड नेपालीको गौरब बनेको छ । त्यसैले पौष २७ लाई राष्ट्रिय एकता दिवस भनिएको हो ।
योगेश भट्टराई, एमाले नेता
आज नेपालको अस्तित्व र नेपाली राष्ट्रियताको निर्माण गर्ने महान् व्यक्तित्वको जन्म दिन हो । समावेशी नेपालको निर्माण, औद्योगिक विस्तार तथा रोजगारी विस्तारको रणनीति, नवीन प्रविधिको उपयोग, सन्तुलित परराष्ट्र नीति, सुशासनका मापदण्डजस्ता विषयमा बडामहाराजबाट दिव्य उपदेशका रुपमा दिएका दिशानिर्देशलाई सम्पन्न, सबल र प्रजातान्त्रिक नेपाल निर्माण गर्न ‘पृथ्वी पथ’ का रुपमा अब हामीले लिनुपर्दछ ।
डा . प्रकाशचन्द्र लोहनी, राप्रपा नेता
खण्डित होइन एकताको खाँचो छ ।
नेपाललाई एकताको सूत्रमा बाँध्ने यी राष्ट्र पुरुषलाई सलाम छ ।
जनकदीप पराजुली, चलचित्रकर्मी
भारतीय प्रम मोदीले नेपालको भूमि लिपुलेकमाथि गरिरहेको दाबीका बारेमा नेपाल सरकारले भारतीय सरकारलाई कूटनीतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी छ ।
पृथ्वीनारायण शाहलाई सम्झौं । पृथ्वीनारायण शाहप्रति सम्मान गरौं । विदेशी अतिक्रमणबाट देशलाई जोगाऔं ।
धनराज गुरुङ, कांग्रेस उपसभापति
घोडेजात्रामा बिदा दिने परम्परा कायमै छ होला
पृथ्वी जयन्तीमा बिदा दिने चलन हरायो !!
शासकहरूले पुस १ र पुस २७ लाई एउटै आँखाले हेरेको जस्तो लाग्छ !!!
जुनसुकै वादलाई प्रतिनिधित्व गरे पनि आजको दिन बिर्संदा पाप लाग्छ कि ? हुन त प्रश्न उठ्न सक्छ ‘धर्म नै नमान्नेलाई पापको के डर ?’
मान्नेले मानौं नमान्नेले जे सुकै गरून्.. !!!
दीपकराज गिरी, चलचित्रकर्मी
इतिहासलाई वर्तमानको चश्माले मात्रै हेर्यौं भने हामी गलत हुन्छौं ! यो अर्थमा म मिसेल फुकोवादी ! पृथ्वीनारायणले नगरेको भए मकवानपुरे सेनले गर्थे राज्य विस्तार, वेद पढेर होइन युद्ध गरेर नै ! अब त्यो शैली गलत भन्ने हो भने हाम्रा हजुरबाका पुस्ताका मान्छेको जन्म प्रक्रिया नै गलत थियो भनेर हाम्रा जिजुबालाई धारेहात लाएर बस्नुको अर्थ छ ? आमाहरूको इच्छाविपरीत भएका हर्कतले जन्मेका हुन् अधिकांश हजुरबा, १२-१५ सन्तान जन्माउन त्यो बेलाका आमाहरूको रहर थियो होला? त्यसैले इतिहासलाई सरापेर वर्तमानमा पाप गर्ने हाम्रो सोच बदलौं ! पुर्खाको योगदानलाई वर्तमानमा असमान व्यवहार गर्ने बहाना नबनाऔं !
युवराज आचार्य, पत्रकार
पृथ्वीनारायण शाहको बारेमा धेरै बहस गर्नु पर्ने र बोल्नै डराउनु पर्दैन होला सायद ! पृथ्वीनारायण जन्मेको ३०० वर्षपछि निकै आधुनिक भनिएको हाम्रो समाजमा अझै पनि जातीय व्यवस्था उस्तरी नै चलेको छ । धेरै जातका कुरा गर्नेहरु पढेलेखेका र विद्वान भन्नेहरु नै छन । राजेन्द्र महर्जन, कृष्ण ह्याछेंथु, कुनै बाहुन छेत्री पनि होलान, जातका कुरा गर्ने यस्तै ३०० वर्षपछिका विद्वान्हरु हुन् । जो ३०० वर्ष पहिले पृथ्वीनारायण शाहले जातअनुसार विभेद गरे भनेर कुर्लिन्छ । कम से कम पृथ्वीनारायण शाहले यती धेरै जात मिलाएर एउटा देश बनाए । म इन्डियन हुनबाट जोगिएँ- ठूलो गर्व छ । पृथ्वीनारायण शाहले राज्य विस्तार गरेका हुन् भन्ने हरुलाई मेरो एउटा प्रश्न- देश कसले बनाएको हो ? ह्याप्पी पृथ्वी जयन्ती !!
गुमनाम परदेशी, पत्रकार
आधुनिक नेपालको नयाँ नक्सा निर्माण अभियानका मुख्य नेता, गोरखाका टाकुरे राजा नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाह हुन् । उनी २९९ वर्षअघि जन्मे जम्माजम्मी ५२ वर्ष ४ दिन बाँचे । ११ जनवरी १७२३ मा जन्मेर १५ जनवरी १७७५ बितेका उनी त्यो बेला मेची कालीभित्रका ५३ भुरेटाकुरे राज्य मध्य एक गोरखाका शासकका छोरा थिए ।
‘टिन एज’ सकिँदाबित्तिकै उनी बीस वर्षको उमेरमा राजा भए । २१ वर्षको उमेरदेखि लडाइँ सुरु गरे ३२ वर्ष लडाइमै बिताए । लडाइँ झगडा राम्रो कुरा होइन, तर उनको लडाइँले त्यो बेला ५३ भुरेटाकुरे राज्य भित्रको अराजकता अन्त्य गरे । त्यो अभियान उनका छोरा बहादुर शाहले जारी राख्दा हालको भारतको सतलजदेखि भारतले निलेको सिक्किमसम्म बिशाल नेपाल बन्यो ।
अहिले विश्वभरि जहाँ छरिए पनि हामी साझा नेपाली भावनाले एक अर्कामा मित र पृत लगाउँछौं । यिनलाई हामीले बिर्संदा यो पृथ्वी ग्रहमा नेपाली भन्ने आफ्नै पहिचान पनि बिर्सन्छौ कि !
देश छ र त आज हामी ग्लोबको सबै ध्रुवमा गौरवले छाती चौडा बनाउछौ र भन्छौ- यो मन त मेरो नेपाली हो । मानबलाइ देबत्वोकरण गर्ने कुराको पछि नलाग्दै आज इतिहासको तथ्य र सत्यलाइ सम्मान गरौ । हाम्रो गौरवशाली मातृभूमि प्रति गर्व गरिरहदा देशको बर्तमान नक्शा तयार गर्ने अभियानको नेतृत्व गर्ने राजनैतिक तथा फौजी कालिगढ़ गोरखाका साहशी युबा पृथ्बी नारायण शाहलाइ सम्मान गर्नु इतिहास प्रति न्याय गर्नु पनि हो ।
नेपाल एकीकरणमा हिडेका उनलाई सातुसामल स्वरुप एक मोहर रकम दिएर सघाउने आदरणीय बिसे नगर्चीलाइ पनि यतिबेला स्मरण गरौ । विरासतमा राज गरेका पृथ्वीका पछिल्ला कैयौ पुस्ताका पात्रहरुको ज्यादती, दमन र शोषणको राज अब अन्त्य भैसकेको छ र अर्को विरासतको शाशन चलाउदै त्यस्तै व्यबस्थाको पुनरावृत्ति गर्ने हरेक षड्यन्त्र बिरुद्द सचेत हुनु पर्दछ ।
देशमाथि शोषण र भ्रस्टाचारको शासन कायम राख्ने ‘घूस दिन्या र लिन्या’ लाई उतिबेलै शत्रु घोषणा गर्ने राजनेताका रुपमा पनि उनको स्मरण हुन जरुरी छ ।
मनऋषि धिताल, पत्रकार
नेपालको भौगोलिक एकीकरण गरी आधुनिक पहिचान दिने गोरखाका राजा पृथ्वीनारायण शाह हामी सबै नेपालीका लागि सम्मानित धरोहर हुन् । उनको सम्बन्ध कुनै राजनीतिक प्रणालीसँग हुँदैन । उनी राष्ट्रनिर्माता हुन् ।
गुरुराज घिमिरे , कांग्रेस नेता
आज एकाबिहानै सामाजिक सन्जालका कतिपय साथीहरूले पञ्चायतकालको झझल्को दिए । तर म त रैती हुनुमा होइन नागरिक हुनुमा गर्व गर्छु ।
विन्दुकान्त घिमिरे, पत्रकार
नेपालको पुनः एकीकरण अभियानका योजनाकार तथा नेतृत्वकर्ता पृथ्वीनारायण शाह अमर रहनेछन्। उनको महान संकल्पले हामी नेपालीहरु एउटै समाज र एउटै परिवारका रुपमा रहने वातावरण पाएका छौं। अंग्रेजहरुको आक्रमणकारी उद्देश्यलाई चकनाचुर पारे वापत साम्राज्यवादीहरुले उनको कर्म, योगदान र व्यक्तित्वलाई समाप्त पार्न खेलेका घृणित खेलहरु धरासायी भएका छन्। बरु साम्राज्यवादी खेलका प्यादाका रुपमा भाडामा प्रयोग गरिएका अपराधिहरु विस्तारै सर्वनाशकौ चक्रब्यूहमा फस्दै गएका छन्।
भरत दाहाल, समीक्षक
तथ्यमा आधारित इतिहास (history) हुन्छ, विश्वासमा आधारित मिथक (myth) हुन्छ र कतिपय सन्दर्भमा यी दुईको योगले बनेको मिथिहास (mythistory) ले काम गरिरहेको हुन्छ ।
राष्ट्रपना (statehood) को निर्माणमा मिथिहास (mythistory) को भूमिका हुन्छ ।
सकारात्मक राष्ट्रपना (राष्ट्रिय एकता र उन्नतिको लागि काम गर्ने) को लागि प्रयोग भएमा मिथिहास (mythistory) जायज छ ।
मिथिहास (mythistory) नकारात्मक राष्ट्रपना (परघृणा र युद्ध उक्साउने) को लागि पनि प्रयोग भएका आधुनिक समयकै दृष्टान्त छन् (जस्तै : युगोस्लाभ गृहयुद्ध) ।
यो चेतनालाई कायम राख्दै सकारात्मक उद्देश्यका लागि मिथिहास (mythistory) को प्रयोग भएकोमा सकारात्मक होऔँ भन्न चाहेँ । सन्दर्भ आजकै दिनको लागि हो, र यो सन्देश लक्षित चाहिँ घृणावादी अतिवादी विद्वानहरूप्रति छ ।
दीपककुमार खड्का
पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा भए, ५२ वर्षको उमेरमा स्वर्गबास भए। ३२ वर्ष शासनमा सानो गोरखाबाट अहिलेको बृहत् नेपाल बनाए । यी जस्ता महामानव विश्वमै विरलै पाइन्छ । गर्व गरौँ र पूर्खा सम्मान गरेर आफ्नो सन्ततिलाई पनि पुर्खाको र भविष्यमा हाम्रो पनि सम्मान गर्ने संस्कार सिकाऔँ ।
भीम उपाध्याय, पूर्व-सचिव

प्रतिक्रिया