नारायणहिटी दरबार सञ्चालन समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

नेपालखोज २०७८ पुष २७ गते १६:०९

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । आज कार्यकारी निर्देशक दाहालले समितिको कार्यालयमा राजीनामा बुझाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा ‘कौडीको मूल्य’ मा हात पारेको पर्यटन मन्त्रालयको छानबिनमा देखिएको थियो । उनले सफा मनले काम गरेपनि आफ्नोबारे दुष्प्रचार गरिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले सरकारले बनाएको छानविन समितिलाई सहयोग गर्न नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले आफूले गरेको कार्यमा गौरवको अनुभूति भएको बताएका छन् । दाहालले राजीनामाको एकप्रति मन्त्री प्रेम आलेलाई पनि पठाएको बताइएको छ ।

प्रतिक्रिया