शनिबार, जेठ ४, २०८२

उत्तर कोरियामा किम जाेन उनको उपस्थितिमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

नेपालखोज २०७८ पुष २८ गते ७:४४

काठमाडाैं । उत्तर कोरियाले नेता किम जाेन उनको रेखदेखमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ । केसीएनए समाचार संस्थाले मङ्गलवार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ ।

जानकारीमा आएको उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो । नयाँ वर्षको अवसरमा भाषण गर्ने क्रममा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बाचा गरेका थिए । त्यसपछि एकै साताभित्र दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन् ।

मंगलबार गरिएको प्रक्षेपणको दक्षिण कोरिया र जापान दुवैले पहिचान गरेका थिए र उनीहरूले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका थिए । केसीएनए समाचार संस्थाले त्यसपछि उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यसमा “उच्च गतिशीलता” भएको भनी व्याख्या गरेको थियो ।

उत्तर कोरियाले यसअघि ज्यानुअरी ५ तारिखमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो । उक्त कदमपछि अमेरिका, यूके, फ्रान्सलगायत देशहरूले त्यसको निन्दा गर्दै प्योङयाङलाई ‘अस्थिर कार्यहरू’ रोक्न आह्वान गरेका थिए ।

हाइपरसोनिक अस्त्रहरू प्रायः बलिस्टिक क्षेप्यास्त्रभन्दा निसानातर्फ कम उचाइ हुँदै जान्छन् । तर त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी अर्थात् प्रतिघन्टा ६,२०० किलोमिटर हुनसक्छ ।

हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ। अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन् ।केसीएनए समाचार संस्थाले शेअर गरेका तस्बिरहरूमा अन्य अधिकारीसँग परीक्षणको अवलोकन नेता किमले पनि गरेको देखिन्छ ।

खबरहरूका अनुसार सन् २०२० को मार्च महिनायता उनले क्षेप्यास्त्र प्रक्षेपण हुँदा उपस्थिति जनाएको यो पहिलोपटक हो ।

प्रतिक्रिया